भेरीका नयाँ मेसु निराजनको स्वागत

बुधबार, असोज ९, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । भेरी अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवदीलाई अस्पतालमा स्वागत गरिएको छ ।

आज एक औपचारिक कार्यक्रम गरी डा. सुवेदीलाई स्वागत गरिएको हो । त्यसक्रममा बोल्दै उनले भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

डा. सुवेदीले पश्चिम नेपालको प्रेषण अस्पताल भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे । त्यसका लागि तत्काल एमडी, एमसीएच (पिजी) अध्ययनका लागि पहल गरिने उनको भनाई छ । ‘बिरामीको उपचार सेवालाई गुणस्तरीय र सहज बनाउने पाटो त छँदैछ,डा. सुवेदीले भने–‘भेरीमा अब पिजी अध्ययनका लागि पनि पहल हुन्छ ।’ उनले नेपाल सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए । ‘भेरीमा कार्यरत रहँदासम्म मैले आफ्नो काम, कर्तव्य र जिम्मेवारी पूरा गर्नेछु’ उनले भने । अस्पताल सबै कर्मचारीको घर जस्तै भएकोे भन्दै सेवा गर्दासम्म सबै परिवारको सदस्य भएर काम गर्नुपर्नेमा उनले जोड दिए । 

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहले नवनियुक्त मेसु डा। सुवेदीलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए । निमित्त मेसु डा. प्रकाश बहादुर थापाले अस्पतालको समग्र विकासका लागि भूमिका निर्वाह गर्न सुझाव दिए । सबैको सहकार्य र समन्वयबाटै अस्पतालको विकास सम्भव हुने र बिरामीले स्तरीय सेवा पाउने भएकाले त्यही अनुसारको भूमिका निर्वाह गर्न उनले सुझाए । 

अस्पताल विकास समितिका सदस्य किरण आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी, पूर्व मेसुहरु, अस्पतालका विभागीय प्रमुख, नर्सिङ प्रशासक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्