हुण्डी कारोबारमा संलग्न दुई जना १७ लाखसहित नेपालगन्जबाट पक्राउ

मंगलबार, असोज ८, २०८१

नेपालगन्ज। बाँकबाट हुण्डी कारोबारमा संलग्न दुई जनालाई १७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई आज दिउँसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा खटिएको बाँके प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट उनले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैयाँ ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खानतलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा भारतीय रुपैयाँ ५९ हजार ५ सय बरामद गरेको बताए ।

पक्राउ परेकाहरुसँग यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्