लुम्बिनी प्रदेशका १७ हेल्प डेस्कबाट सशस्त्र प्रहरीले दियो ५ हजार बढीलाई सेवा

पौने ८ करोडको अवैध सामान बरामद
सोमबार, असोज ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले नागरिकको सुरक्षाका लागि प्राथमिक स्वास्थ्यतर्फ प्रदेशभरका सीमावर्ती ७ जिल्लाका १७ स्थानहरुमा चौबिसै घण्टा हेल्थ डेस्कबाट समेत सेवा दिँदै आएको छ ।

सशस्त्र प्रहरीले  भदौ महिनामा मात्रै सन्चालित हेल्थ डेस्कबाट ४ हजार १५ र असोजको पहिलो सातासम्म १ हजार ६३ जनलाई सेवा दिइएको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटाले जनाएको छ।

त्यस्तै अवैध तस्करीविरुद्ध धावा बोल्दै आएको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सबै सीमासँग जोडिएका जिल्लाबाट अवैधरुपले भित्रिएका सामग्रीहरुलाई धमाधम बरामद गर्ने क्रममा गत साउन महिनादेखि हालसम्म पौने ८ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल भएको छ ।

सशस्त्र प्रहरीको नेतृत्व गरेको लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा  अन्तर्गतका तराईसँग सीमा जोडिएका ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरुले गत साउनदेखि असोजको पहिलो साता नवित्दासम्म ७ करोड ७४ लाख ७९ हजार ८ सय ६० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेका हुन् । अघिल्लो आर्थिक वर्षको साउनदेखि भदौ महिनासम्म सशस्त्र प्रहरीले लुम्बिनीभरबाट ५ करोड ७ लाख ८० हजार ७ सय ६२ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको थियो ।

विन्ध्यवासिनी बाहिनीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा लत्ताकपडा, किराना सामग्री, चिनी, मोटर पार्ट्स, मोबाइल डिस्प्ले, कुखुरा लगायत अन्य रहेका छन् । सशस्त्र प्रहरीले बरामद गरेका सबै अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा बुझाइसकेको विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचविखन, लागूऔषध कारोबार र सीमा अपराधलाई कडा निगरानी गर्दै नियन्त्रणका लागि समेत अहम् भूमिका खेल्दै आएको छ ।

त्यस्तै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बाहिनी, जिल्लास्थित गण, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी तथा बेसहरुले स्थानीय प्रशासन, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल लगायत सम्बन्धित सरोकार राख्ने निकायहरुसँग आबश्यक समन्वय गर्दै आमनागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालित भइसकेका छन् ।

केही समय अघि मात्र सशस्त्र प्रहरी लुम्बिनीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदिप कुमार पालले सीमा नाकामा हुने अवैध गतिविधिविरुद्ध कुनै सम्झौता नगर्ने बताएपछि सशस्त्र प्रहरी झनै खरोरुपमा उत्रेको छ । डीआइजी पालले आफैं सीमा नाका अवलोकन गर्दै राज्यले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर बहन गर्न प्रदेशभरका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्