बेल्जियम दुतावासद्वारा संविधान दिवसको कार्यक्रम सम्पन्न

सोमबार, असोज ७, २०८१
Neuro hospital Nepalgunj

ब्रसेल्स । बेल्जियम, नेदरल्याण्ड र लगजम्वर्ग (बेनेलक्स) तथा युरोपेली संघका लागि मिसन प्रमुख बेल्जियमका लागि नेपाली राजदुतावास बेल्जियमले संविधान दिवसका उपलक्ष्यमा शुक्रबार ब्रसेल्समा एक कार्यक्रम आयोजना गरेको छ ।

ब्रसेल्सको अत्यन्त ऐतिहासिक स्थल सिटि हलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि युरोपेली संघ एसिया तथा प्यासेफिक विभाग, बाह्य कार्य सेवाकी निर्देशक पाउलो पम्पालोनीले नेपालको संविधान दिवसको अवसरमा शुभ कामना व्यक्त गर्दै यो बर्ष नेपाल र युरोपेली संघको कुटनितिक सम्वन्ध स्थापना भएको पचास बर्ष पुरा भएको बताउदै आगामी दिनहरुमा युरोपेली संघ र नेपाल बिचको सम्बन्ध र सहयोगलाई अझ बढि बलियो र सार्थक बनाउने अवसर भएको बताएका थिए ।

पाउलोले यो लामो अवसरमा दुई पक्षीय साझेदारीले नेपालको लोकतन्त्र, मानव अधिकार, आर्थिक सम्वृद्धि, दिगो शान्ति स्थापनाका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । 

सोहि प्रसंगमा पाउलोले नेपाल वास्तबमै सुन्दर देश भएको त्यहाँका हिमाल, जैविक विविधता, बन लगायत प्राकृतिक स्रोत साधनहरु प्रसस्त भएको हुनाले आगामी दिनमा सरकारले नविकरणीय उर्जा, हरित उर्जा र पर्यटन व्यवसाय जस्ता बिषयहरुलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो हुने सुझाव दिएका थिए। 

बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले संविधान दिवसको अवसरमा दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै नेपालको संविधानले नेपालीहरुको आर्थिक र सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउँदै, छिमेकी देशहरुवाट पनि नेपालको सम्बृद्धि र विकासका लागि सहयोग भैरहेकोमा खुसी व्यक्त गरेका थिए। 

राजदुत राजभण्डारीले युरोपेली संघ नेपालको व्यापार, पर्यटन विकास र सम्बृद्धिका लागि एउटा मुख्य साझेदार भएकोले उहाँहरुबाट निरन्तर सहयोग र समर्थन प्राप्त भैरहेकोमा खुसी व्यक्त गर्दै यसले निरन्तरता पाउनेमा आफु विश्वस्त रहेको बताए । 

राजदुत राजभण्डारीले अहिले नेपालको पर्यटन क्षेत्र पुनः पहिलेको अवस्थामा फर्किसकेको हुँदा लगानी र भ्रमण गर्न सबैमा अनुरोध गरेका हुन ।  

संविधान दिवसको अवसरमा दुतावासद्धारा आयोजित उक्त कार्यक्रममा नेपालका लागि युरोपियन युनियनका राजदुत, भारत, चीन, जापान, जर्मन लगायतका देशहरुका राजदुत तथा बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग स्थित विभिन्न सामाजिक संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सर्बसाधरणको उल्लेख्य सहभागिता रहेको थियो। 

बेल्जियम, युरोपेली संघ तथा नेपालको राष्ट्रीय गानबाट शुभारम्भ गरिएको उक्त कार्यक्रमलाई थप रोचक तथा नेपाली कला र संस्कृति देखाउन पासा पुचः र नेपाल–ब्रसेल मिलन केन्द्रद्धारा लाखे, कुमारी नाँच प्रस्तुत गरिएको थियो भने अन्य कलाकारहरुले विभिन्न नेपाली गीतहरुमा नाँच प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ००:०९
प्रतिक्रिया दिनुहोस्