भेरी अस्पतालले १३३औं बार्षिकोत्सब मनायो

शुक्रबार, साउन १२, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालले आज १३३औं बार्षिकोत्सब मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा १३३औं बार्षिकोत्सब मनाइएको हो। 

बार्षिकोत्सबको उद्घाटन गर्दै मन्त्री खनालले भेरी अस्पताल संघमार्फत सञ्चालनमा रहे पनि प्रदेशले समन्वयसंगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । बार्षिकोत्सब कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी  बनाउने विषयमा सुझाब दिएका थिए । कोरोनाकालमा भेरीले दिएको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

अस्तपतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. बद्रि चापागाईंले एक बर्षमा १ लाख ८० हजार ४ सय ३२ जनाले सेवा लिएको जानकारी दिए । उनले भेरीले गुणस्तर बृद्धिसंगै सेवा विस्तार गरिरहेको बताए । 

त्यस अवसरमा २५ बर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वीर अस्पतालसंगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको छ । 

भेरी  अस्पताल वि.सं. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसुति गृह नामाकरण गरिएको थियो । वि.सं. २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात वि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गरिएको थियो ।

यस अस्पतालका लागि शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल विकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा सञ्चालन भइरहेको छ । 

२०६१ भाद्र २९ गतेको पत्रानुसार १०० शैया बाट बृद्धि गरी २०० शैया क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भएपनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएकाले हालसम्म १५० शैया क्षमतामै अस्पताल सञ्चालन भइरहेको छ ।

देश संघीय संरचनामा गएपछि केही समय भेरी प्रादेशिक अस्पताल नामाकरण भई प्रदेश नम्बर ५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको पछिल्लो निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल कायम गरिएको छ। 

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्