नेपालगन्ज म्याराथन रात्री दौडको उपाधि पुरुषतर्फ सेनाका मुकेश र महिलातर्फ नरैनापुरकी गितालाई

शुक्रबार, असोज ४, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करण अन्तर्गत गएराती सम्पन्न रात्री दौड प्रतियोगितामा १० किलोमिटर मेन्स ओपनमा नेपाली सेनाका मुकेश पाल प्रथम भएका छन् ।

यस्तै एपिएफका सन्तोष विक्रम विष्ट दोस्रो र किरण सिंह बोगटी तेस्रो भएका छन्  । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत प्रि–इभेन्टका रूपमा संविधान दिवसको दिन पारेर नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड गएराती आयोजना गरिएको हो ।

त्यस्तै १० किलोमिटर ओमेन ओपनतर्फ बाँके नरैनापुरकी गिता कुमारी साहु, कोहलपुरकी स्वस्तिका शाही र सलिना थारु क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । आयोजक क्रियटिभ ह्याण्डसका अनुसार १० किलोमिटर भेट्रान्स (४५ बर्ष माथि) ओपनतर्फ रैवत दाहाल प्रथम, भरत श्रेष्ठ दोस्रो र महेन्द्र बज्राचार्य तेस्रो भएका थिए ।

पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिएको छ भने भेट्रान्सतर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । विजेता धावकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरेका थिए ।

१०औं धारा नेपालगन्ज म्याराथन नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद परेकाले मंसिर २२ गते शनिवार आयोजना हुने आयोजक क्रियटिभ ह्याण्डस्ले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्