गणेशमान सिंह स्मृति दिवसमा नेपालगञ्जमा दीप प्रज्वलन

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जमा आज २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २७औं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेस बाँकेले आज गणेशमान चोकमा दीप प्रज्वलन गरेर स्मृति दिवस मनाएको हो । 

दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै बक्ताहरुले सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताए । नेपाली राजनीतिमा सिंहको नाम सदा स्मरणीय रहने भन्दै बक्ताहरुले उनले देखाएको बाटोमा राजनीतिलाई लैजान सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा ब्यक्त गरेका थिए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टी पदाधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

वि.सं.२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन उनी सदा क्रियाशील थिए ।

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन वि.सं. २०५४ असोज २ गते भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्