५१ फरार प्रतिवादी समात्दा भदौ महिनाभर अरु के-के गर्‍यो बाँके प्रहरीले?

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनाभरमा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेर ९ वर्ष २३ दिन कैद र १ लाख ४८ हजार रुपैयाँ बढी जरिवाना असुल उपर गर्न बाँकि रहेका ५१ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरी प्रमुखका रूपमा कमान्ड सम्हालेयता एसपी तुलबहादुर कार्कीको कडा निर्देशन अनुसार भदौमा मात्रै १ करोड ५८ लाख ६३ हजार ४५७ रुपैयाँ बराबरका अवैध सामाग्री जिल्ला प्रहरी बाँकेले बरामद गर्न सफल भएको छ। 

बाँके प्रहरीले लत्ताकपडादेखि इलेक्ट्रिकल, मोटरपार्टस लगायतका अवैध सामाग्री, जिप , मोटरसाइकल बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। भदौको १० गते नै बाँके प्रहरीले नेपालगन्जबाट ४०७ ग्राम सुन, १० किलो चाँदीसहित ४ जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ।

त्यसैगरी, जिल्लाभरबाट विभिन्न कसुरका ६२ मुद्दामा ६२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने २४ वटा मुद्दा फर्छौट गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। जसमा राप्तीसोनारी-५ बिनौनामा भएको खुकुरी काण्डमा संलग्न लगायतका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ।

बाँके प्रहरी कार्यालयमा आएका ५ सय १० ठाडो उजुरीतर्फ ४१४ मुद्दा फर्छौट गरिएको छ भने ९१ वटा निवेदन प्रक्रियामा रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यस्तै महिला तथा बालबालिकातर्फका २० मुद्दा दर्ता भएकोमा १० जनालाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ भने घरेलु हिंसा सम्बन्धि ६४ वटा उजुरीमा ५१ वटा फर्छौट गर्दा  बाँकी अनुसन्धान  प्रक्रियामा रहेका छन् ।

यसैगरी, जिल्ला प्रहरी बाँकेमा बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको ४२ निवेदनमा   २६ जना फेला पारेर आफन्तको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेको  बाँके प्रहरीले जनाएको छ।

ट्राफिक कारबाहीतर्फ भदौ महिनामा २३सय ७७ सवारीसाधनलाई कारबाही गर्दै १८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले २२ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्दै लागु औषध मुद्दा चलाएको छ भने सोही दौरानमा ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, ११३० ट्याब्लेट  नाइट्रोजेपाम, ६११ ट्याब्लेट ट्रमाडोल जस्ता लागु औषध बरामद गरेको जनाएको छ।

त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ३७ पटक सचेतनामुलक कार्यक्रम गरेको छ। जसमा लागु औषध, साइबर अपराध, चोरी सचेतना लगायतका सचेतनामुलक कार्यक्रम गरेको थियो। 

जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत भदौ महिनामा इलाका प्रहरी कार्यालय भगवानपुर उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको छ भने आचरण विपरीत कार्य गर्ने एक प्रहरी कर्मचारीलाई तीन पुस्ते जनिने गरि कारबाही गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्