'लागुऔषध प्रयोगकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’

मंगलबार, असोज १, २०८१
Neuro hospital Nepalgunj

बाँके । लागुऔषधविरुद्ध काम गर्ने नेपालका प्रमुख संस्थामध्यको एक हो, रिकभरिङ्ग नेपाल । लागुऔषध प्रयोगकर्ताको हितमा काम गर्ने रिकभरिङ्ग नेपालले सातैवटा प्रदेशमा लागू औषध प्रयोगकर्ता बिरामी हुन् र उनीहरुलाई उपचारको खाँचो भन्ने कुरालाई जोड दिँदै काम गरिरहेको छ । 

आज रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर रिकभरिङ्ग नेपालले गरिरहेको कामहरुका बारेमा जानकारी दिएको छ । रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा कुमारी जिशीले लागुऔषधका विषयमा नेपाल सरकारको दोहोरो नीतिका कारण काम गर्न असहज भएको बताइन्।

‘लागुऔषधका विषयमा नेपाल सरकारकै नीति नै बाँझिने खालको छ । स्वास्थ्य मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेरेको छ भने गृह मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा हेरेको छ,’ अध्यक्ष जिशीले भनिन् । उनले रिकमरिङ्ग नेपालले भने लागुऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेर्ने गरेको बताउँदै उनीहरुलाई लागूऔषधबाट बाहिर निकाल्न, उनीहरुलाई एचआभी, हेपाटाइटिस जस्ता रोगहरुबाट जोगाउने काम रिकभरिङ्ग नेपालले गरिरहेको बताइन् । 

कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसीले लागूऔषध सम्बन्धी ऐन, नियमलाई सुधार्न रिकभरिङ्ग नेपाल लागिपरेको बताए । बिसीले भने, ‘यो सरकारले कुनै एकजनाको आवाज सुन्दैन । त्यसैले रिकभरिङ्ग नेपालले लागुऔषध सम्बन्धी ऐनलाई सच्याउन एउटा टिम नै बनाएर लागिपरेको छ । यसमा आवश्यक सबै कुराहरुको प्रतिवेदन हामीले गृह मन्त्रालय पठाइसकेका छौं ।’ बिसी विश्व स्वास्थ्य संगठनले समेत लागूऔषध प्रयोगकर्तालाई बिरामीको संग्या दिइसकेको अवस्थामा नेपाल सरकार भने अझै अलमलमा परेको जिकिर गरे । जसका कारण धेरै लागूऔषध बिरामीहरुको ज्यान नै जोखिममा रहेको कुरामा उनले जोड दिए ।

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी महासचिव यशोदा ज्ञवालीले महिला लागूऔषध बिरामीका लागि झनै समस्या रहेको जिकिर गरिन् । उनले सरकारको ऐन नै बाझिने र सरकारले लागुऔषध बिरामीका लागि एउटा पनि सुधार गृह स्थापना गर्न नसक्नु सरकारको कमजोरी रहेको बताइन् ।
त्यसैगरी पत्रकार सम्मेलनमा रिकभरिङ्ग नेपालले ६ महिनाको कार्यक्रम पनि सार्वजनिक गरेको छ। अगष्ट २०२४ देखि जनवरी २०२५ सम्म रिकभरिङ्ग नेपालले लुम्बिनी प्रदेशमा लागूऔषध बिरामीका लागि गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो ।

जसमा विभिन्न चरणमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको बैठक, छलफल तथा अन्तरक्रियाहरु रहेका छन् । उक्त कार्यक्रमको माध्यमबाट लागुऔषध बिरामीका समस्या पहिचान, उनीहरुको आवश्यकता तथा हकअभिकारका बारेमा ड्राफ्ट तयार पार्ने र स्थानीय सरकार तथा नेपाल सरकारलाई सो ड्राफ्टप्रति उत्तरदायी गराउने लक्ष्य लिइएको महासचिव ज्ञवालीले जानकारी दिइन् ।  

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्