विद्युतीय जोखिम न्यूनीकरण गर्न श्रमदान गरेर झाडी हटाउँदै स्थानीय

मंगलबार, असोज १, २०८१
Neuro hospital Nepalgunj

भोजपुर । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।

अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् ।

श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताए ।

वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ । 

“श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उनले भने, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ ।”

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्