सहकारी रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

सोमबार, भदौ ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो।

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी)राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैङ्कमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितिले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसद्मा पेस गर्दै छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितिले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । काँग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्