राप्तीसोनारी खुकुरी प्रहार घटना : वडा अध्यक्षसहित पाँच जना पुर्पक्षका लागि थुनामा

आइतबार, भदौ ३०, २०८१

नेपालगञ्ज । बाँके जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिकास्थित विनौना चोकमा खुकुरी प्रहार भएको घटनामा वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश दीपक घिमिरेको एकल इजलासले थुनामा रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ३८ वर्षीय 'ज्ञानु' भनिने ज्ञानेन्द्रराज ओलीसहित पाँच जनालाई आज पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना चोकमा भदौ १ गते साँझ राप्तीसोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो । उनीहरुको भारतको लखनउमा उपचार भइरहेको छ ।

घाइतेमध्ये विष्टकी श्रीमती चेतना पुरी विष्टले भदौ २ गते वडाध्यक्ष ओलीसहित १० जनाविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत लिखित उजुरी दिएकी थिइन् । शुक्रबारदेखि थुनछेक बहस सुरू भएको थियो । सरकारी वकिल पाँच जनासहित जाहेरीवालाका तर्फबाट दश जना वकिलले बहस सकेका थिए भने प्रतिवादीको तर्फबाट आठ जना वकिलले बहस गरेको बताइएको छ ।

वडा अध्यक्ष वलीसहित राप्तीसोनारी–२ का ३२ वर्षीय बामे भन्ने चुडामणि ‌वली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो भने अरु फरार रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्