भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिले: प्रचण्ड

आइतबार, भदौ ३०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । रातारात षड्यन्त्रमूलक ढङ्गले आफू नेतृत्वको सरकार ढालेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आपत्ति जनाएका छन् । आज झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए । 

उनले संसारमा कतै पनि संसद्का दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए । 

उनले भने, ‘जब नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ती फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानीलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमूलक ढङ्गले संसारमा सामान्य रूपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

प्रचण्डले गिरिबन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताए । उनले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाएका छन्  । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्