विदेश पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जना पक्राउ

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी विदेशी मुलुक  माल्टा, अष्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका १ नयाँगाउँ घर भई काठमाडौँ नागार्जुन नगरपालिका ९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका ७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् । 

पक्राउ परेकामध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौँ स्युचाटारबाट र अमृतलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्