संवैधानिक परिषद्को बैठक बस्दै, आजै प्रधानन्यायाधीशको सिफारिस हुन सक्ने

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्दैछ । यसअघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । 

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेदेखि अवकाशमा जाँदै छन् । तर अहिलेसम्म संवैधानिक परिषदले प्रधानन्याधीशको सिफारिस गर्न सकेको छैन । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । 

संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । 

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । 

सिफारिस भएकामध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्