तुलसीपुरको होटेलमा श्रीमतीसँगै बसेका युवक मृत भेटिए

बिहीबार, भदौ २७, २०८१

तुलसीपुर । दाङको तुलसीपुरस्थित एक होटेलमा श्रीमतीसँँगै बसेका युवक मृत फेला परेका छन् । तुलसीपुर-७ का २२ बर्षीय एक युवक होटेलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुर - ५ बसपार्कस्थित न्यू सागर गेष्ट हाउसको कोठमा भित्र तुलसीपुर का- ७ का २२ बर्षीय बिशाल सुबेदी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

बिशाल भदौ २४ गते श्रीमती एञ्जिला भण्डारीका साथमा सोही होटेलमा बस्दै आएका थिए । श्रीमती एञ्जिला होटेलको बाल्कोनीमा निस्किएको समयमा बिशालले झुण्डिएर आत्महत्या गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बिशालले घोराहीकी एञ्जिलासंग गत बैशाखमा मात्रै बिहे गरेका थिए । तर, उनीहरुको बिहेलाई आफन्त स्वीकार गरेको थिएन । त्यसैले उनीहरु घर तथा आफन्तकोमा नगइ बाहिर बाहिरै बस्दै आएका थिए ।

पछिल्लो समय उनीहरु छिमेकी देश भारतवाट फर्किएको १५ -१६ दिन अघि मात्रै घर फर्किएका थिए । उनीहरु यो बीचमा कहिले साथीकोमा र कहिले कतै आश्रय लिदै बस्दै आएका थिए । पछिल्लो समय भने उनीहरु दुई दिन पहिले मात्रै उक्त होटेलमा बस्न गएका थिए ।

बिशालको घरमा बुवा आमा कोही छैनन् । बिशालकी आमाको मृत्यु भइसकेको र बुवा अर्कौ श्रीमतीका साथ छिमेकी देश भारतमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । बुवा आमा नभएपनि नजिकका आफन्त पर्ने मध्यका अन्यले उनीहरुलाई स्वीकार्न तयार नभएपछि बिशाल तनाबमा रहेको पाइएको छ।

श्रीमान र श्रीमतीका बीचमा कुनै खटपट वा झैं झगडा भएको कुरा नखुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ‘ आफन्तले घरमा स्वीकार नगरेकै कारण बिशाल तनाबमा थिए भन्ने श्रीमतीको वयानवाट खुलेको,’ एक प्रहरी अधिकारीले बताए ।

घोराहीवाट माइतीघरका मानिसलाई बोलाएर एञ्जिलालाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । घटना बुधबार दिउँसो करिब ४ बजेतिरको रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्