गाँजा बिक्री गर्ने पुजारी मन्दिरबाटै पक्राउ

बिहीबार, भदौ २७, २०८१

रौतहट । प्रहरीले मन्दिरका एक पुजारीलाई गाँँजा बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ।

रौतहटस्थित देवाही गोनाही नगरक्षेत्र अन्तर्गत देवाही गोनाही नगरपालिका ९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवका छोरा ६५ वर्षका पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सूचनाअनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाइ राखेको प्लाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । 

लगत्तै पुजारी यादवलाई गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि  इलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । 

यसअघि गाँजा बिक्री वितरण गर्ने एकजना साधु फतुवा विजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्