आयातित बिरामीका कारण बाँकेमा औंलोको जोखिम

बिहीबार, भदौ २७, २०८१

नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औँलो रोगको जोखिम बढ्दो रहेको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो ।  पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औँलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् ।

“स्थानीय समुदायका व्यक्ति भन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरू सङ्क्रमित भएर समुदायमा आउँदा औँलो रोगका बिरामीहरू बढी पाइएको छ”, उनले भनिन्, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातित बिरामीहरूमा यो रोग बढी पाइएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा १ सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो । जिल्लामा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ। गत आवमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा १ सय ३१ औलोका बिरामीहरू फेला परेका थिए । 

यसैगरी राप्तीसोनारीमा नौ, डुडुवामा आठ, नेपालगञ्जमा सात, कोहलपुरमा तीन, बैजनाथ र खजुरामा दुई दुई जनामा औलो रोग पुष्टि भएको थियो । जानकी गाउँपालिकामा भने शून्य रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सबैभन्दा धेरै नरैनापुरमा एक सय तीन, नेपालगञ्जमा १०, कोहलपुरमा चार, राप्तीसोनारी र खजुरामा दुई दुई, जानकीमा एक जनामा औलो रोग पुष्टि भएको थियो । डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो ।

भारत लगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बढ्दै गएका कारण जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोत व्यक्ति गौतमको भनाई छ । रासस ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्