नेपालगन्जमा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी

मंगलबार, भदौ २५, २०८१

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी सुरु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।

'गोष्ठीमा जिल्लामा रहेका स्थानीय तहमार्फत सम्पादित कार्यक्रमहरु, अस्पताल तथा आयुर्वेद चिकित्सालयहरुको प्रगतिको तुलनात्मक विश्लेषण गरिन्छ,' उनले भने, 'यसले राम्रा कामहरूको अरुका लागि सिकाई हुन्छ । कमीकमजोरी सुधार गर्दै भावी रणनीति तयका लागि पनि सहज हुन्छ ।' संघीय सशर्त तथा प्रदेश समानीकरण अन्तर्गत कार्यक्रम संचालनमा देखिएका कमीकमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने बुँदाहरु पत्ता लगाई लक्ष्य प्राप्तिमा सहजता खोज्नका लागि पनि गोष्ठी उपयोगी हुने श्रेष्ठले बताए ।

गोष्ठीको पहिलो दिन जिल्लाका ८ वटै पालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरण प्रस्तुत गर्नेछन् भने भावी योजना पनि सुनाउनेछन् । स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेका छन् । भोलि दोस्रो दिन भने विकासे साझेदारी संघसंस्थाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

भोलिसम्म चल्ने गोष्ठीमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मान बहादुर वली, जिल्लामा स्वास्थ्यका क्षेत्रमा कार्यरत सरकारी तथा गैसस, संचारकर्मी लगायतको सहभागिता रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्