राष्ट्रिय खेलाडीहरुको अबदेखि नि:शुल्क स्वास्थ्य परीक्षण

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ । देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिममा रहेका खेलाडीहरूको स्वास्थ्य परीक्षण नि:शुल्क गरिने भएको छ।  शहीद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । 

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षण सम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ । 

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ । घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७  खेलाडी लाभान्वित हुनेछन् ।

कार्यक्रमको कीर्तिमानी ओलम्पिकको पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूआत गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै खेलाडीहरूको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूआत भएको बताए ।

पारालिम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धिका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए ।

अर्को वर्ष थप श्रोत  सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले ‘खेलाडीहरुको स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार 

पलेशाको उपलब्धिले देशको शिर उचो बनाएको छ’ भने । उनले भने, ‘यो शुरूआत उहाँप्रतिको सम्मान पनि हो ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्य मन्त्री  पौडेलप्रति आभार प्रकट गरे । ‘यो सकृयताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद’, उनले भने । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्