मलेसियामा मृत्यु भएका दाङका थारुको शव जतिसक्दो चाँडो ल्याउन सांसद गिरीको आग्रह

सोमबार, भदौ २४, २०८१

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले मलेसियामा मृत्यु भएका दाङका रुपलाल चौधरीको शब जतिसक्दो चाँडो नेपाल ल्याउने ब्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बैठकमा आज बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले नेपाल फर्कने क्रममा कोलालाम्पुर विमानस्थलमा बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका चौधरीको दुःखद निधनले आफू मर्माहत भएको बताएका छन् । उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकारसंग आग्रह गरेका छन् । 

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गिरीले गत शुक्रबार अचानक आएको पहिरोले घर भत्किएर  दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ लामिदमार निवासी  नन्दलाल भण्डारी तथा उनकी श्रीमती घाइते भएको घटनाप्रति दुःख ब्यक्त गर्दै दुवै जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 'पहिरोले भण्डारी परिवारको घर क्षतिग्रस्त हुनुका साथै केही चौपायाहरू पनि  मरेकोले यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न पनि म नेपाल सरकारसंग ध्यानाकर्षण गर्न चाहन्छु,' गिरीले भने। 

यसैगरी गिरीले पेरिसमा हालै सम्पन्न  पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा तथा हालै काठमाडौंमा सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता नेपाली महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाईलाई बधाई दिएका छन् । 

सांसद गिरीले नेपाली कांग्रेसका संस्थापक नेता,  प्रजातान्त्रिक समाजवादका प्रणेता, जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अबसरमा श्रद्धासुमन समेत ब्यक्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्