आगामी महाधिवेशनमा सभापतिमा लड्नुपर्ला जस्तो छ : शशांक कोइराला

सोमबार, भदौ २४, २०८१

काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने  कांग्रेसका पूूर्व महामन्त्री डा. शशांक कोइरालाले बताएका छन् । 

काठमाडौँमा आज विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए । 

उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए । उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । उनले ठूलो मान्छे नभई असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए ।

उनले भने, ‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बिपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ। त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दा खेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्