मामाघर आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

बिहीबार, भदौ २०, २०८१

जनकपुर । धनुषाको लक्ष्मीनिया  पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएको बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा रहेको बताइएको छ ।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्