बेल्जियममा कलाकार संघको भव्य तीज

स्टेजमा नाँच्ने कलाकारहरुले पैसा नपाएकोमा गुनासो
मंगलबार, भदौ १८, २०८१

बेल्जियम । हरितालिका (तीज) पर्वको पूर्व सन्ध्यामा बेल्जियममा दजनौ संस्था र व्यक्तिहरुले महिलाहरुका लागि दर खुवाउने कार्यक्रम आयोजना गर्छन । 

त्यस्तै मध्यको एक संस्था युरो–नेपाल कलाकार संघ (ऐना) बेल्जियमले शनिवार लुभेनमा साँगितिक कार्यक्रम सहित महिलाहरुका लागि दर खाने कार्यक्रम आयोजना गर्यो । यो दरखाने कार्यक्रम नै बेल्जियममा सबै भन्दा ठुलो मानिन्छ। 

उक्त कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले तीज महिलाहरुका लागि एउटा सुखद पर्व भएकोले प्रवासमा रहेर पनि सबै महिलाहरु संगठित भएर आफ्नो संस्कृतिलाई निरन्तरता दिनु भएकोमा आभार प्रकट गर्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे। 

गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले तीज र दरखाने पर्व दिदी–बहिनीहरुले एक आपसमा दुःख–सुख बाँट्ने पर्व समेत भएकोले बिदेशी भूमिमा सबै दिदीबहिनीहरु उपस्थित भएर हाँसी खुसी यो पर्व मनाउन पाउनु सबैका लागि गौरवको बिषय भएको बताइन् । 

कार्यक्रमका प्रमुख अथिथि राजदुत राजभण्डारी र आयोजक संस्था ऐनका अध्यक्ष बलराम पुनद्धारा पानसमा दीप प्रज्वलन गरी समुघाटन गरिएको उक्त दरखाने कार्यक्रममा आयोजक संस्थाका तर्फवाट दरका रुपमा खानाका विभिन्न परिकारहरु निशुल्क उपलव्ध गराईएको थियो भने पुरुषहरुका लागि प्रबेश शुल्क २० युरो तोकिएको थियो । 

आयोजकका अनुसार कार्यक्रमको शुभारम्भ पञ्चे बाजामा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने बिच बिचमा विभिन्न ससाना बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।  

त्यसैगरी स्थानीय कलाकार अमृता नेपालीले तीजको भाखामा विभिन्न गीत गाएर उपस्थित महिलाहरुलाई नचाएकि थिईन । 

कार्यक्रममा लाखे नाँच र पञ्चे बाजा समेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा तीज पर्वसंग सम्वन्धित मौलिक गीतमा सहभागीहरु दर खाँदै  नाँच्दै गरेका थिए । 

कार्यक्रमलाई थप रोचक बनाउन र आर्थिक संकलन गर्न आयोजकले १० युरोमा चिठ्ठा बेचेका थिए भने सो चिठ्ठा कार्यक्रमको अन्त्यमा खोलिएको थियो । 

टिका बानियाँ र बविता केसीले प्रायोजन गरेको पहिलो पुरस्कारको रुपमा सानो तिलहरी प्रभा अर्याल (आन्ट्रोप) लाई परेको थियो ।

श्रीकृष्ण सुनचाँदी पसल, आन्ट्रोपेनले प्रायोजन गरेको दोश्रो पुरस्कार रोजी मल्ल (लुभेन), आस्था हमाल ठकुरीले प्रायोजन गरेको तश्रो पुरस्कार प्रतिक सापकोटा (लुभेन) र निशा धितालले प्रायोजन गरेको चौथो पुरस्कार संगीता गुरुङ (लुभेन) लाई परेको थियो।

आयोजकका अनुसार ऐना बेल्जियमद्धारा यो पटकको आयोजना गरेको दरखाने कार्यक्रममा लुभेन नगरपालिका, बाग्लुङ समाज बेल्जियम, लुम्बिनी–कपिलबस्तु ग्लोबल समाज बेल्जियम, गैरआवासीय नेपाली संघ बेल्जियम, साँग्रीला समाज बेल्जियम, नवलपरासी सहायता कोष बेल्जियम, लुभेन चाइनिज स्कुल बेल्जियम, एक्टिभ इन्टरकल्चर फेडरासी बेल्जियमले प्रायोजन गरेका थिए । 

कलाकार र अभिभावकको गुनासो 

यसैबीच सोहि कार्यक्रममा स्टेजमा नृत्य प्रस्तुत गर्ने कलाकारहरुले आयोजक प्रति असन्तुष्टि प्रकट गरेका छन् । स-साना कलाकारहरुका अनुसार आयोजक ऐनाले आफुहरुले नृत्य प्रस्तुत गरे वापत एक युरो पनि नदिएकोमा रोष व्यक्त गरे । 

कलाकारका एक अभिभावकले पनि आयोजक प्रति गंभीर आरोप लगाएका छन् । उनका अनुसार ऐनाले यो कार्यक्रमका लागि व्यक्ति–व्यक्तिवाट, प्रायोजकहरुवाट, प्रबेश शुल्कबाट र चिठ्ठाबाट समेत दशौ हजार युरो संकलन गरेता पनि स्टेजमा नृत्य प्रस्तुत गर्ने १० जना बालबालिकाहरुलाई एक युरो पनि नदिनु उनीहरुको कलाको अपमान भएको बताए । 

ती अभिभावकले थप भने “नाँचेका केटाकेटीहरुलाई प्रमाण पत्र दिईयो तर दुई युरोको एउटा फ्रेमसम्म लगाईएन । यो आर्थिक शोषणको पराकाष्ठा हो।"

त्यस्तै सहभागि एक पुरुषले ऐनाले यो कार्यक्रमको आय–व्ययको विवरण छिटै सार्वजनिक गरेर संस्था भित्रको सुशासन र समाज प्रति उत्तर दायित्व देखाउन आवश्यक रहेको बताए ।  

यस सम्वन्धमा कुरा बुझ्न संस्थाका अध्यक्ष बलराम पुनसंग सम्पर्क गर्दा वहाँको फोन उठेन र यो समाचार तयार पार्दासम्म उहाँवाट समेत फोन आएन । संस्थाका एक जना पदाधिकारीले यो बिषयमा आफू अनभिज्ञ रहेको जानकारी दिए ।  


 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्