देउवाको जवाफ- कसैले छोड् भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने छैन, म छोड्दैन

आइतबार, भदौ १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब हुने प्रधानमन्त्री पद त्याग गर्न अस्वीकार गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवालाई त्याग गर्न गरेको आग्रह देउवाले अस्वीकार गरेका हुन् । 

२०८३ मा देउवा प्रधानमन्त्री नबनी पार्टीको १५ औँ महाधिवेशन गर्नु उपयुक्त नहुने भनी तर्क भइरहेका बेलामा शर्माले देउवा प्रधानमन्त्री बन्ने र महाधिवेशन गर्ने विषय फरक भएको भन्दै यसलाई अन्तरसम्बन्धित बनाउन नहुने बताए । 

उनले यसलाई जोखिम नलिइ समाधानतिर लाग्ने हो कि भन्दै सुझाए । महामन्त्री शर्माले ८४ सालसम्मको कार्यतालिका परिकल्पना गरी काम गर्नुपर्नेमा जोड दिए। 

उनले ८१ सालदेखिको कार्यतालिका बनाएर समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहँदा सभापति देउवाले भने त्यसलाई इन्कार गरेका हुन् । विशेष गरी देउवा  प्रधानमन्त्री नभइ महाधिवेशन गर्नुपर्ने धारणा शर्माले राखेसँगै उनले अस्वीकार गरेका हुन् । 

शर्माले भने, ‘८१ सालमा छौँ हामी सत्ता व्यवस्थापन गर्नुस्, ८२ सालमा सबै तहको अधिवेशन र महाधिवेशन गर्न सकिन्छ । किनभने हिंसा पनि छैन, कोरोना पनि छैन । भूकम्प पनि छैन । ८२ मा गर्न सकेनौँ भने ८३ को बैशाखमा शुरु गरेर असारमा सरकारको नेतृत्व हामीलाई हस्तान्तरण हुने कुरा छ हाम्रो सभापतिज्यूलाई त्यो सकेर भदौमा शुरु गर्दा स्थानीय तहको निर्वाचनमा जान केबल सात महिनामात्र बाँकी रहन्छ । नयाँ आउनु भएको सभापतिलाई सात महिना पनि नदिने रु अहिलेको कार्यतालिकाको सन्दर्भमा महासमितिले निर्णय गर्ने होइन । के सोचाइ राखौँ भने सक्छौँ ८२ मा गरौँ । सक्दैनौँ भने ८३ बैशाखमा शुरु गरेर सरकारको नेतृत्व हस्तान्तरण असारमा हुन्छ त्यसको तीन महिनापछि त महाधिवेशन गरौँ न । कम्तीमा सात महिनाको समय नयाँ सभापतिलाई नयाँ कार्यसमितिलाई रहन्छ ।’ 

शर्माले बोलिरहँदा सभापति देउवाले अस्वीकार गरेका हुन् । उनले त्याग गर्ने प्रसंगलाई अस्वीकार गरेका हुन् ।

त्यसपछि भने उनको सम्बोधनका क्रममा पटक पटक केन्द्रीय सदस्यहरुले गाइँगुइँ गरिरहे । उनले कति कार्यकाल कुन पदमा रहन पाइने भन्ने विषयमा रहँदा अवरोध भएको हो । 

उनले भने, ‘दुई कार्यकाल निरन्तर सभापति भएर तेस्रो पटक हुन पाइँदैन । एक पटक ग्याप गर्नुपर्छ । त्यस्तै स्थानीय तहको प्रमुख निरन्तर दुई पटक हुन पाइन्छ । संविधानले राष्ट्रपति दुई पटक हुन पाउने भनेको छ त्यसलाई एक पटक बनाउँ । सानो सानो सुधार कांग्रेसको नेतृत्व हुनुपर्छ । यसलाई हामीले फरक ढंगले सोच्नुपर्छ ।’  

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्