गृह मन्त्रालयमा जान सचिवहरुको हानाथाप सुरु

आइतबार, भदौ १६, २०८१

काठमाडौँ । गृहसचिवबाट एकनारायण अर्याल मूख्यसचिव बनेसँगै गृहमा जानका लागि सचिवहरुको हानथाप भइरहेको छ । अर्याल मूख्यसचिवमा नियुक्त भएपछि  गृहसचिव रिक्त रहेको छ । गृहसचिव रिक्त भएपछि त्यहाँ जानका लागि सचिवहरुले आफ्नो लबिङ तीव्र बनाएका छन् । 

जसमध्ये कृष्णहरि पुस्करले सबैभन्दा बढी लबिङ गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका कृष्णहरि पुस्करले यसअघिबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको चाकडी गरिरहेका छन् भने बेलाबखत गृहमन्त्री रमेश लेखकलाई पनि इच्छा व्यक्त गरिरहेका छन् । 

विवादित छविका पुस्करले अनुकुल रुपमा कांग्रेस कम्युनिष्ट भएको बताउँदै आएका छन् । कोटको एउटा खल्तीमा कांग्रेस भएको प्रमाण बोक्ने अर्को खल्तीमा कम्युनिष्ट भएको प्रमाण बोक्ने गरेको उनका सहकर्मीहरुले बताउँदै आएका छन् ।

कर्मचारीवृत्तमा उनको ट्रयाक रेकर्ड राम्रो छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लाग्दा मधुकुमार मरासिनी अर्थसचिव र कृष्णहरि पुस्कर राजश्व सचिव थिए । 

विवाद उत्कृर्षमा पुगेपछि मरासिनी बिदा बसेका थिए भने शर्माले राजीनामा दिएका थिए । शर्माले मन्त्रीबाट राजीनामा दिएपछि मरासिनी मन्त्रालय फर्केपछि शर्मा बिदा बसेका थिए । 

मरासिनीले शर्माको मातहतमा बसेर काम गर्न नचाहेपछि सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो । त्यसयता पुस्कर अर्थ सचिव बन्ने दौडमा थिए ।

२४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुस्कर डेढ महिनामै अर्थ मन्त्रालयमा भित्रिएका थिए । 

शक्ति केन्द्र रिझाएर लगातार छलाङ हान्दै आएका उनले राजश्व सचिव भएको एक वर्ष पुग्दा नपुग्दै अर्थ सचिव बनेका थिए । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि विवादमा पर्ने गरेका थिए । तत्कालीन श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । 

केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।

त्यसपछि उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) का रूपमा पनि काम गरे । तर जहाँ–जहाँ कामका लागि पुगे त्यहाँ उनी सधैं विवादमा मुछिए । 

मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । 

बारामा सीडीओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका उनले १३ मंसिर २०७२ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई बोलाएर धम्क्याएका थिए । 

गृहमन्त्री लेखकले यस्ता व्यक्तिलाई गृहसचिव बनाएमा मन्त्रालयको साख गिर्ने एक कर्मचारीले बताएका छन् ।

गृहमा आउन चाहेका अर्का पात्र हुन विनोद सिंह । सिंह यसअघि पनि गृह मन्त्रालयमा बसिसकेका छन् । निर्णय क्षमता नभएका उनी पनि विवादित पात्र हुन् । 

उनी टेरामक्स प्रकरणमा अख्तियारले दुई पटक बयान लिइसकेको र मुद्धा चलाउन तयारी अवस्थामा राखेका व्यक्ति हुन् । 

उनको पनि गृह प्रशासन हाँक्ने क्षमता नभएको स्पष्टै बुझिन्छ र यस्तै हाल उद्योग मन्त्रालयमा रहेका कृष्ण राउतले पनि इच्छा व्यक्त गरेका छन् । 

उनी ललिता निवास प्रकरणमा जोडिएका व्यक्ति हुन् । अन्य सचिवहरुले पनि गृह मन्त्रालयमा जाने इच्छा व्यक्त गरेका भए पनि अन्तिमा गृहमन्त्रीको चाहाना बमोजिम सरुवा हुने बताइएको छ । हाम्राकुरा।

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्