पार्टी पंक्ति र जनभावना अनुसार आफू अझै केही समय अध्यक्षमै रहन्छु: प्रचण्ड

आइतबार, भदौ १६, २०८१

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पंक्ति र जनभावना अनुसार आफू अझै केही समय अध्यक्षमै रहिरहने बताएका छन् । 

प्रेस सेन्टर बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ता र जनस्तरको भावना पनि त्यही रहेकाले तत्काल पार्टी नेतृत्वबाट विदा नहुने स्पष्ट पारे । कम्युनिष्ट पार्टीहरुमा नेतृत्व निर्माण र हस्तान्तरण भन्ने कुरा अलि फरक हुने भन्दै उहाँले थुप्रै पक्षहरुले यसमा भूमिका खेल्ने बताए । 

'हस्तान्तरण भनेको कसैलाई टिको लगाएर दिइने कुरा पनि होइन, लिइने कुरा पनि होइन,' उनले भने-'३५-३६ वर्षदेखि नेतृत्व गर्दै आएकाले अब नेतृत्वमा म नै भइराख्नुपर्छ भन्ने त छैन, तर साथीहरूको भावना अहिले तपाइँले यताउता गर्न पाउनुहुन्न भन्ने छ, उहाँहरुको ममाथि प्रेसर छ ।' हस्तान्तरण र पुस्तान्तरणका बारेमा पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालमा नयाँ भनेको माओवादी मात्रै भएको दाबी समेत गरे । 'नेपालको आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने भनेको माओवादी नै हो,' प्रचण्डले भने, 'नयाँ हामीले नै गर्छौं । ' उनले नयाँ भनेर आएका पार्टीहरुले पनि माओवादीसंग सहकार्य गर्नुको विकल्प नरहेको प्रचण्डको जिकिर छ । 

उनले आफू अब पार्टी बनाउन केन्द्रित हुने बताए । प्रधानमन्त्री भएका कारण पार्टीले थालेको अभियान अन्तर्गत विगतमा जनतामा जान नसकेको बताउँदै उनले अब 'घर-घरमा माओवादी, जनजनमा माओवादी' अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्