महामन्त्रीको प्रस्तावमा सभापति लचक, आजको बैठकमा पारित गरिने

आइतबार, भदौ १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसको पछिल्लो आन्तरिक विवाद समाधान भएको छ । विशेषगरी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा ११ बुँदामा छलफल भइरहँदा पार्टीको महाधिवेशन समयमै गर्ने र चुनावअघिको गठबन्धन नगर्ने विषयमा रस्साकस्सी भए पनि सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीचको पटक पटकको छलफलपछि सहमति भएको हो । 

कांग्रेसका एक पदाधिकारीका अनुसार गत मंगलबार हुनुपर्ने केन्द्रीय कार्यसमिति बैठक रोकेर पटक पटक पदाधिकारीहरुबीच छलफल गरी सहमति खोजिएको हो । 

उनका अनुसार महामन्त्री गगनकुमार थापाले ल्याएको प्रस्तावको वरिपरि रहेर सहमति गरेसँगै आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्ने भएको छ । 

महामन्त्रीद्धय र उपसभापतिद्धयले बैठकमा बोलेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी पारित गरिनेसमेत ती पदाधिकारीले जानकारी दिए । 

साथै आगामी चुनावमा पार्टीले बहुमत ल्याउने गरी वातावरण बनाउनेसमेत निर्णय हुने बताइएको छ । 

त्यस्तै पार्टीको विधानमा भएको कुरालाई बोल्न नपर्ने तथा एउटै व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक बन्न पाउने भन्ने विषय पार्टीले अहिले निर्णय गरेर जान नपर्ने गरीसमेत सहमति भएकोसमेत बुझिएको छ । 

यो विषयलाई महामन्त्री विश्वप्रकाश शर्माले उठाएका हुन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै शर्मा स्वयंले अहिले केही समस्या भएको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरेका छन् । 

उनले एक पटक राष्ट्रपति, दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने, तीन पटकमात्र मन्त्री बन्न पाउने र चार पटकमात्र सांसद बन्न पाउने निर्णय गरेर जाने हो भने सबै राजनीतिक दललाई प्रभाव पार्नेसमेत बताएका छन्। 

शर्माले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढ्ने पनि बताएका छन् । 

गत साउन २३ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक निरन्तर बस्न सकेको छैन । पहिले एक साता लामो विश्रामपछि गत भदौ ७ गते बसेकामा फेरि चार दिनको अन्तर पारेर बुधबार १२ गते बस्नुपर्ने थियो । 

अब आज बैठक बस्नेछ र आज  नै प्रस्ताव पारित गरेर बैठक टुंग्याइने बताइएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्