३४ तोला सुन र साढे १० किलो चाँदी बरामद घटना: पक्राउ परेका चार जना सार्वजनिक

बुधबार, भदौ १२, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट बरामद गरेको ३४ तोला सुन र साढे १० किलो चाँँदीसहित पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ।

सोमबार दिउँसो बाँके प्रहरीले ३४ तोला सुन र साढे १० केजी चाँदीसहति पक्राउ परेका बर्दिया जिल्लाको राजपुर नगरपालिका – ४ का ४२ बर्षीय निमप्रकाश सुनार र राजपुर – ८ का ४० बर्षीय नेपाली थारु, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका – ११ का २१ बर्षीय राहुल सोनार र जिल्लाको राप्ती सोनारी गाउँपालिका – ४ का २४ बर्षीय ओमजङ्ग चौधरीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

नेपालगञ्ज – ११ बिपी चोक क्षेत्रबाट  सुनको अबैद्य कारोबार भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले नेपाली थारुले चलाएको ०३०१– ०२४ च ६७६३ नम्बरको कारको खान तलासी गर्ने क्रममा कारमा सवार बर्दियाका निमप्रकाश सुनारको साथवाट ६७ ग्राम सुन  र नेपालगञ्ज उपमहानगरपालिका – ११ का २१ बर्षीय राहुल सोनारको साथवाट १७२ ग्राम तौलको चाँदीका पायल र तारहरु बरामद गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले अनुसन्धान गर्दै जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका – ४ का २४ बर्षीय ओमजङ्ग चौधरीपनि पक्राउ परेको जानकारी दिए ।

चौधरी नेपालगञ्ज उपमहानगरपालिका – २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढ हुन । सोही कारखानामा खानतलासी गर्ने क्रममा थप सुन ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको थियो । कारखाना सञ्चालक मुराउ भने फरार छन् ।

दुबै ठाउँ ठाउँमा गरि सुन ४०७ ग्राम अर्थात ३४ तोला र चाँदी १० केजी ६१३ ग्राम बरामद भएको डिएसपी डाँगीले बताए । बरामद सुन र चाँदीको बजार मूल्य झन्डै ७० लाख बराबर हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्