सशस्त्र प्रहरीका उच्च अधिकृत पनि पुगे सर्वोच्च

सोमबार, भदौ १०, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौतीको आदेश दिएपछि  सशस्त्र प्रहरी बलका अधिकारीहरुसमेत सर्वोच्च अदालत पुगेका छन्। 

१६ भदौदेखि अवकाश पाउन लागेका डीआईजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् । डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन् । 

मंगलबारका लागि उनीहरुको पेशी तोकिएको छ। गत बिहीबार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । 

सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन् । सशस्त्रमा ३० वर्षे सेवा हद हटेमा बढुवाको जाम झनै बढ्ने र संगठन अस्तव्यस्त हुने जोखिम छ । 

अवकाशमा जान लागेका दुई एसपी र एक डीएसपीलाई भने विशेष बढुवा दिएर बिदा गर्न लागिएको छ। सशस्त्र प्रहरीमा अवकाश हुने बेलामा कार्यरत पदमा ५ वर्ष काम गरेको र ३० वर्षे सेवा अवधिका कारण अवकाश भइजानेलाई एक तह बढुवा गर्ने व्यवस्था छ । 

सोही व्यवस्थाका कारण अवकाश हुन लागेका एसपी भीमबहादुर चौधरी र महेन्द्रराज भारती तथा डीएसपी हरिबहादुर शाहीलाई विशेष बढुवा गरिएको छ ।  

यसअघि चौधरी र भारती डीएसपी थिए । उनीहरूलाई केही दिनअघि मात्रै एसपीमा विशेष बढुवा गरिएको हो । यस्तै हरिबहादुर शाही पनि सशस्त्र प्रहरी निरीक्षक नै थिए । उनलाई पनि विशेष बढुवा गरेर डीएसपी बनाइएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्