मर्स्याङ्दी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो, मृतक सबै भारतीय नागरिक

शुक्रबार, भदौ ७, २०८१

तनहुँ  । तनहुँको आबुँखैरेनी- २ स्थित ऐनापहरामा भएको भारतीय पर्यटक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बस दुर्घटनामा २७ जनाको मृत्यु भएको र १६ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते सबैलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको काठमाडौँ महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ११ः३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा चालकसहित ४३ जना यात्रु रहेको बताइएको छ ।

सो बस भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ । पर्यटकलाई भैरहवाबाट पोखरा घुमाएर काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो ।

बसमा रहेका सबै यात्रु भारतीय नागरिक रहेको पाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्