मर्स्याङ्दी बस दुर्घटना अपडेट: मृतकको संख्या १८ पुग्यो

शुक्रबार, भदौ ७, २०८१
Neuro hospital Nepalgunj

तनहुँ । तनहुँको आबुँखैरेनी २ स्थित ऐनापहरामा मर्स्याङ्दी  नदीमा खसेको भारतीय पर्यटक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । 

दुर्घटनाग्रस्त बसमा चालकसहित ४३ जना यात्रु रहेको खुलेको छ । जसमा ३९ जनाको उद्धार गरिसकिएको इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।

उनले भने, ‘बसमा ४३ जना यात्रु रहेको पाइएको छ, हालसम्म ३९ जनाको उद्धार गरिसकेका छौँ, बाँकी चार जनाको खोजी भइरहेको छ ।’

घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए । उनका अनुसार बाँकी घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ११ः३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

सो बस भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ ।

पर्यटकलाई भैरहवाबाट पोखरा घुमाएर काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । बसमा रहेका सबै यात्रु भारतीय नागरिक रहेको पाइएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्