गृहमन्त्रीलाई तरुण दलले भन्यो , खुँडा प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाही होस्

शुक्रबार, भदौ ७, २०८१

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलले आफ्ना कार्यकर्तामाथि धारिलो हतियार (खुँडा) प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको नेतृत्वमा नेपाली कांग्रेस बाँके पार्टी कार्यालय नेपालगञ्जबाट शान्तिपूर्ण प्रदर्शनसहित निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीमार्फत गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको सचिव विनोद रिजालले जानकारी दिए ।

भदौ १ गते साँझ राप्तीसोनारी ५ विनौमामा राप्तीसोनारी २ का सन्दीप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि ज्यान मार्ने उद्देश्यले राप्तीसोनारी २ का ज्ञानेन्द्र राज वली 'ज्ञानु' को नेतृत्वमा रहेको १०-१५ जनाको एक समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको पीडितको भनाई छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका 'ज्ञानु' लगायत चार जनालाई पक्राउ गरिसकेको छ । राप्तीसोनारी २ अगैयाका नारायण डाँगी लगायत केही अझै फरार छन् ।

घाइते विष्टकी श्रीमती चेतना पुरी विष्टले ज्यान मार्ने उद्योगमा ९ जना विरुद्ध जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । तरुण दलले घटनामा संलग्न सबैलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराएको हो । तरुण दलले उक्त समूहलाई पेशेबर आपराधिक समूहको संज्ञा दिँदै विगतमा पनि त्यस समूहबाट आपराधिक क्रियाकलाप हुँदा समेत मुद्दा कमजोर बनाएर रिहा गर्ने गरिएको स्मरण गराएको छ ।

घटनामा संलग्न पेशेबर अपराधीहरुलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । कुनै पनि बहानामा पनि मुद्दा कमजोर बनाई रिहा गर्ने चेष्टा नगर्न तरुण दलले चेतावनी दिएको छ । 'घटनामा संलग्न पेशेबर अपराधीलाई बचाउने प्रयास गरिए नेपाल तरुण दल बाँके चुप लागेर बस्ने छैन,' ज्ञापनपत्रमा भनिएको छ-'देशैभर आन्दोलन चर्काउन बाध्य हुनेछौं ।'

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्