सशस्त्रको लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खुल्दै

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सशस्त्र प्रहरीको लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खुल्ने भएको छ । सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय २७ नयाँ दरबन्दी सिर्जना गरेपछि १८ वर्षदेखि रोकिएको बढुवा जाम खुल्ने भएको हो ।

जवानदेखि नायव निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १ सय २७ दरबन्दी थपिएको यसका लागि सशस्त्र प्रहरी चाँडै नै सूचना निकालेर बढुवा आह्वान गर्ने भएको छ । सरकारले केही दिनअघि  ५८ जना वरिष्ठ सई सहितको नयाँ दरबन्दी थप गरिएको छ । 

साउन ३ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको हो । त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । रिक्त रहेको चारसहित अब १५ जना एसएसपी हुनेछन् । यसका लागि सशस्त्र प्रहरीले चाँडै नै सूचना जारी गर्ने तयारी गरेको छ । 

यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी सिर्जना भएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा थोरै दरबन्दी थपिएको हो । 

नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । 

सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेको भन्दै उक्त संख्या थप्न महानिरीक्षक अर्यालले गृहमा प्रस्ताव गरेका थिए ।

त्यसपछि गृहले सशस्त्रको प्रस्ताव रायका लागि अर्थमा पठाएकामा तत्काल प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै बढुवामा देखिएको गाठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी केही अधिकृत स्तरका १ सय २७ र वरिष्ठ सईको ५८ पद संख्या बढाउन सैद्धान्तिक सहमति दिएको थियो । 

अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा ती पद संख्या बढाउन प्रस्ताव पेस गरेका थिए । योसँगै डेड दशकसम्म एउटै पदमा बसेका निरीक्षकलाई डीएसपीसहितमा बढुवा गर्न बाटो खुलेको छ । 

१ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ । 

यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ ।     

खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री र गृहमन्त्री, गृह मन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त सकारात्मक भएका कारण पनि एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया शुरु भएको हो। 

अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७–८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ ।     

विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि शुरु भएको छ भने सशस्त्र प्रहरी बलमा केही वर्षयताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भएका छन् ।     

यस्तै ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्