बेल्जियममा प्रवासी नेपालीका घरमा चोरीका घटना बढ्दो

शुक्रबार, साउन ३२, २०८१

बेल्जियम । बेल्जियममा प्रवासी नेपालीका घरमा चोरी हुने घटना नौलो होइन । विगत केहि बर्षयता व्यवसायी र सामान्य काम गरेर जीविकोपार्जन गर्ने नेपालीहरुको घरमा समेत दिनदहाडै चोरीका घटना भएका छन्  भने पछिल्लो समयमा कतै चोरी कार्यमा संलग्न मानिस नेपाली समुदाय कै हैन भन्ने आशंका विभिन्न कोणहरु बन्न थालेका छन् । 

यसका साथै प्रायः नेपालीकै घर खोजीखोजी चोरी हुनुमा यसका पछाडीका विभिन्न कारणहरु समेत खोजी हुन थालेको छ भने यसरी प्रवासी नेपालीहरुको घरमा सृंखलाबद्ध चोरीका घटना हुँदा नेपाली समुदाय भयभित बनेको छ । 

यस्ता घटनाहरु बेल्जियममा मात्र नभै अन्य मुलूकमा पनि हुने गरेको देखिन्छ ।  चोरीका घटना आन्तर्पेन, ब्रुज लगायत लुभेन क्षेत्रमा बढि देखिन्छ छ । खासगरी जुलाई–अगस्टमा चोरीका घटनाहरु बढ्नुको कारण भने प्रायः नेपालीहरु यसै बेला छुट्टी मनाउन देश बाहिर जाने प्रचलन भएकोले यो महिना बढि जोखिमयुक्त महिनाको रुपमा लिइन्छ ।

यसै हप्तामात्र चार दिनको अन्तरातमा हेबर्लीको एउटै टोलको आमने–सामनेका दुई नेपालीको घरमा चोरी भयो । यी दुई घरमा चोरले अन्य बस्तुलाई भन्दा गरगहनालाई प्राथमिकतामा राखेको देखिन्छ ।    

त्यस्तै गत केहि साता अघि लुभेनको सडकमा हिडिरहेका एक जना नेपालीको घाँटीमा लगाएको सुनको सिक्रि समेत लुटियो ।  

चोरी भएको स्थान, समय, प्रकृति र नेपाली कै घर हुने भएकेले अहिले प्रहरी तथा नेपाली समुदायलाई कतै चोरीमा संलग्न व्यक्ति नेपाली त हैन भन्ने आशंका पैदा गरेको छ । 

बेल्जियममा चोरीका घटनालाई हेर्दा चोरको मुख्य उदेश्य सुनका गहना र नगद चोरी गर्ने मात्र देखिन्छ । सोहि क्रममा उस्ले जुत्ता –याकमा रहेका जुत्ताहरुलाई यत्रतत्र छरपस्ट पारेको देखिन्छ । जुत्ता भित्र घरको साँचो लुकाउने नेपालीहरुको प्रबृति पुरानो भएकोले चोरले यो मनोबिज्ञान बुझेर घरको महत्वपूर्ण साँचो खोजेको पनि हुनसक्छ । 

अर्को कुरा संसारभरी सुनका गहना लगाउनेहरुमा नेपाली अग्र स्थानमा पर्दछन । चाँडबाँडको समयमा त झन नेपाली महिलाहरुले सुनका गहनाले झपक्क देखिने पुरानो सभ्यता हो । त्यसैले पनि यस्ता गरगहना प्रयोगले कतै नेपालीहरुको घर असुरक्षित त बनाएको छैन भन्ने पनि देखिन्छ ।  

केहि समय पहिले आन्तर्पेनको एउटा घरमा चोरी गर्ने उदेश्यले मानिसहरु घरभित्र प्रबेश गरेपछि “ए बच्चाहरु पो रहेछन । भागौ” भन्ने शब्द प्रयोग गरेको हुँदा चोरीका घटनाको पछाडी नेपाली कै हात छ भन्ने देखाउँछ ।

यसरी दिन प्रति दिन चोरीका घटनाहरु वृद्धिसंगै केहि सजगता पनि अपनाउनु पर्ने देखिन्छ ।     

चोरीका घटनाबाट सुरक्षित हुन सब भन्दा पहिले सुनका गरगहना प्रयोगमा ध्यान दिनु पर्ने देखिन्छ । खासगरी चाँडपर्व वा अन्य सामजिक काममा गरगहना लगाएर हिड्ने र देखाउने प्रबृतीलाई कम गर्नु पर्दछ । जति धेरै गहना लगाइन्छ, देखाइन्छ त्यति धेरै जोखिम बढ्ने चोरीका घटनाले देखाउँछ । 

त्यस्तै धेरै जसोले आफुसंग भएका बहुमूल्य गहना र बस्तुहरु बैंकको लकरमा नराख्ने गरेको देखिन्छ । लकरमा बहुमूल्य सामानहरु राख्दा सुरक्षित हुने बिषयमा सबैलाई जानकारी भएकै बिषय हो । तसर्थ आफुसंग भएका गरगहनालाई लकरमा राखौ । लकरमा राख्दा बार्षिक करिब सय युरो तिरे भने यो सुविधा पाइन्छ । यसरी पनि हामीले हाम्रा गरगहनालाई पछि सुरक्षित राख्न सक्छौ । 

अर्को मुख्य बुझ्नु पर्ने मुख्य कुरा के हो भने प्रायजसो हामीले छुट्टी मनाउन हिडेको फोटोहरु सामाजिक संजालमा राख्छौ । यस्तो गर्नाले चोरलाई चौतारो भनेझै चोरलाई चोरी गर्ने गतिलो अवसर हुन्छ । तसर्थ छुट्टी मनाउन हिडेका फोटोहरु सामाजिक संजालमा राख्ने काम बन्द गर्नु पर्दछ ।  

त्यस्तै चोरीका घटनामा कमी ल्याउन घरमा सिसिटिभि जडान गर्दा सम्भावित चोरी हुने घटना कम हुन सक्छ र चोरी भएकै खण्डमा पनि चोरको पहिचान गर्न मदत मिल्छ । यो खासै महंगो पनि हुदैन । त्यसैले घर सुरक्षित राख्न यस्ता प्रविधिहरुको जडान गर्ने गरेमा घर सुरक्षित हुन्छ । 

दैनिक रुपमा प्रयोग हुने सिक्री, औंठी, घडी लगायतका बहुमुल्य बस्तुहरुलाई जहिले पायो त्यहि र घरभित्र जहाँपायो त्यहाँ राख्ने काम गर्नु हुदैन । गहना छोराई सकेपछि सम्झेर पुनः लगाउने वा तुरुन्त सुरक्षित स्थानमा राख्ने बानीको विकास गरौ । 

सकिन्छ भने घरमा पनि एउटा लकर राख्ने काम गरौं । 

अबको केहि  नेपालीहरुका चाँडपर्वहरु नजिकै छन् । खासगरी महिलाहरुले तिज लगाएत अन्य पर्वहरुमा अनावश्यक गरगहनाको प्रयोग कम गर्नु उपयुक्त हुन्छ । सकेसम्म गरगहनाको प्रयोग कम गरौं । यदि गर्नु नै छ भने प्रयोग गरौ र तत्काल (आजको भोली) नै पुनः लकरमा राख्ने काम गरौं । 

घरमा संकलित नगद रकमलाई समेत सुरक्षित स्थानमा राख्ने गरौं ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्