ढकेरीमा एक युवकसहित दर्जनौं बाख्रा मारेको घटनामा स्कुलले साढे २१ लाख दिने सहमति

आइतबार, साउन २७, २०८१
Neuro hospital Nepalgunj

कोहलपुर  । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित  ढकेरीमा स्कूल बसको ठक्करबाट एक जना युवकसहित २१ वटा खसी बाख्राको मृत्युको घटनामा बाँकेको उक्त  स्कूलले क्षतिपुर्ती स्वरुप साढे २१ लाख दिने सहमति भएको छ ।

बिहीबार बेलुका ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत  कोहलपुरबाट पूर्वतर्फ बिद्यार्थी छोड्न आइरहेको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै ठक्कर दिदा बाख्रा चराउन गएका राप्तीसोनारी गाउँपालिका-९ का २६ बर्षीय गोबिन्द वलीकासहित २१ खसी बाख्राको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने बस कोहलपुर नगरपालिका-१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कूलको थियो । घटना पछि भएको सहमति अनुसार मृतक गोबिन्दका आफन्तलाई १५ लाख र २१ खसी बाख्राको लागि जनही २५ हजारका दरले रकम उपलब्ध गराउने सहमति भएको छ ।

बसको ठक्कर बाट मरेका २१ खसी बाख्राका साथै आधा दर्जन जति घाइते बाख्राहरुको समेत क्षतिपुर्ती सोही रुपमा दिने सहमति भएको छ । यसअघि प्रहरी प्रशासनले बसको ठक्करबाट १३ वटा मात्रै खसी बाख्रा मरेको जानकारी दिएको थियो ।

सहमति अनुसार साढे २१ लख रकम मध्य स्कूलले घटनाको २५ दिन भित्र १५ लाख र बाँकी रकम बिमाको रकमसंगै उपलब्ध गराउने सहमति भएको स्रोतले बतायो ।

त्यस्तै मृतकका नौं महिनाका छोरालाई जहाँ पढाएपनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले बेहोर्ने सहमतिपनि कायम भएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले कोहलपुर नगरपालिका – १३ का २५ बर्षीय बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा रहेको बताए । दुर्घटना लगतै फरार सुनारलाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिएको थियो ।

प्रहरी हिरासतमा रहेका चालकले बसको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरी समक्ष बयान गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्