स्वास्थ्य मन्त्रीले सुरुवात गरे भेरी अस्पतालमा अनलाइन टिकट

शुक्रबार, साउन २५, २०८१

बाँके  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भेरी अस्पतालको इन्डोर भवन र एमआरआई सेवाको उद्घाटन गरेका छन् । 

आज एक कार्यक्रमका बीच मन्त्री पौडेलले अस्पतालको इन्डोर भवन र एमआरआई सेवाको उद्घाटन गरेका हुन् । उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पतालहरुमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताए । 

मन्त्री पौडेलले सरकारी अस्पतालहरुमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनुपर्ने बताए । उपलब्ध उपकरणहरुको सही प्रयोगमा पनि ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ ।

भेरीमा भएको बेडको सूचना पनि अनलाइनमै राखे अझ राम्रो हुने भन्दै उनले सोचेको भन्दा राम्रो सेवा भेरीले दिइरहेको भएपनि अझै धेरै सुधार्न आवश्यक रहेको औंल्याए । मन्त्री पौडेलले न्यूनतम जनशक्ति र उपकरणको उपलब्धतालाई उचित ब्यवस्थापन गरेर भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । त्यसक्रममा मन्त्री पौडेलले अस्पतालको निरीक्षण पनि गरेका छन् । यस्तै अस्पतालले आजैदेखि अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत शुरूवात गरेको छ । मन्त्री पौडेलको उपस्थितिको अवसर पारेर स्वास्थ्य परीक्षणका लागि अब घरमै बसेर पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको शुरूवात गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताए । भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसंग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराएका थिए । अस्पताल विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिति थियो । 

मन्त्री पौडेलले आजै कोहलपुर नगरपालिकाको नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पनि उनले निरीक्षण गर्नेछन् । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्