राप्तीसोनारीमा द्वन्दपीडितलाई आयआर्जनमा जोड्ने काम गरिरहेका छौंः अध्यक्ष पौडेल

बिहीबार, साउन २४, २०८१

नेपालगञ्ज(बुधबार, असोज २, २०८१) । बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले द्वन्दपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । नेपाल पिसबिल्डिंग इनिसियटिभले आज नेपालगञ्जमा आयोजना गरेको  न्याय र परिपूरणमा मिडिया संलग्नता र फेलोशिप कार्यक्रमु मा अध्यक्ष पौडेलले शिक्षातर्फ द्वन्दपीडितका सन्तानलाई स्नातक तहमा समेत छात्रबृत्तिको ब्यवस्था गरिएको बताए । 

स्वास्थ्यमा सहज पहुँचका लागि राहत कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले द्वन्दपीडितहरुको न्यायमा पहुँचका लागि पनि पैरवी गरिरहेको उल्लेख गरे।

'कार्यविधि नै बनाएर द्वन्दपीडितका पक्षमा काम गरिरहेका छौं, अध्यक्ष पौडेलले भने, आयआर्जनमा जोड्ने गरी काम गरिरहेका छौं, सबै कार्यक्रममा द्वन्दपीडितलाई समेटेर लैजाने नीति बनाएका छौं ।'

 उनले पालिकामा पालिका स्तरीय र वडा स्तरीय सञ्जाल बनेको उल्लेख गर्दै त्यसलाई पािलकाको अंगको रुपमा स्वीकार गरिएको समेत बताए । वास्तविक पीडितका लागि पालिकाले काम गर्ने बताउँदै उनले कतिपय द्वन्द र परिवर्तनसंग नजोडिएका ब्यक्ति पनि सहिदको सूचीमा समेटिएको देख्दा भने आफू आश्चर्यमा परेको उल्लेख गरे । 

द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया विश्वकर्माले ढिलै भए पनि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले न्याय पाउने आशा जागृत गरेको बताइन् । उनले संसदबाट विधेयक पारित भएपछि पीडितले सही अर्थमा न्याय पाउने गरी कार्यविधि बन्नुपर्नेमा जोड दिइन् । द्वन्दपीडितका लागि शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा आरक्षण नभई ग्यारेण्टी गरिनुपर्नेमा विश्वकर्माको जोड छ । लामो समयदेखि विवाद गराइएको सुरक्षाकर्मीको पीडित परिवारलाई पनि राहत दिने विषयमा सहमति जुट्नु सुखद पक्ष भएको भन्दै उनले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । 

न्यायका लागि द्वन्दपीडित सञ्जाल बैजनाथ गाउँपालिका बाँकेकी सचिव पार्वती बुढाले राजनीतिक पूर्वाग्रहबाट मुक्त आयुक्त नियुक्ति गरेर स्वच्छ ढंगले न्याय निरुपणको काम गर्नुपर्नेमा जोड दिइन् । स्मृतिकरण भन्दा पनि द्वन्दपीडितलाई आर्थिक सहायता आवश्यक देखिएको उनको भनाई छ । बुढाले स्थानीय सरकारले स्वेच्छिकरुपमा द्वन्दपीडितलाई सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा नेपाल पिसबिल्डिंग इनिसियटिभकी कार्यक्रम ब्यवस्थापक मिबुशा घिमिरेले संस्थाको कार्य क्षेत्र, गतिविधि, हालसम्मका उपलब्धि, स्थानीय सरकारले गरेका कामहरु, सरकारसंग द्वन्दपीडितका अपेक्षा र गुनासा, मिडियाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । त्यस अवसरमा नेपाल पिसबिल्डिंग इनिसियटिभका प्रमुख सुविन्द्र बोगटीले द्वन्दपीडितका मुद्दाहरु मिडियामार्फत उजागर गरेर समाधानमा केन्द्रित हुन सघाउ पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा डेढ दर्जन बढी पत्रकारहरुको उपस्थिति थियो । नेपाल पिसबिल्डिंग इनिसियटिभले संक्रमणकालीन न्याय सम्बन्धि विषयमा पत्रकारहरुलाई फेलोशिप पनि दिँदै आएको छ । 

नेपाल पिसबिल्डिंग इनिसियटिभले बाँकेमा राप्तीसोनारी र बैजनाथ गाउँपालिकालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । यस बाहेक दांगको बंगलाचुली र दंगीशरण गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका तथा रोल्पाको सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिका पनि कार्य क्षेत्र हो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्