प्राकृतिक विपदबाट १६७ जनाको मृत्यु हुँदा ५० बेपत्ता

बिहीबार, साउन २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपदबाट बुधबार दिउँसोसम्म एक सय ६७ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपदबाट काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ६७ जनाको मृत्यु भएको हो । 

उनका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ९९ जना घाइते भएका छन् । 

बाढी, पहिरामा  काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढी र पहिरोमापरी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।”

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले दुई सय ६८ वटा घर, एक सय वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

बाढी पहिरोले बुधबार दिउँसोसम्म सात सय ६३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ७२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्