भारत काभा महिला भलिबल च्याम्पियन, नेपाल पराजित

बुधबार, साउन २३, २०८१

काठमाडौँ । भारत  काभा महिला भलिबल नेसन्स लिगमा नेपाललाई पराजित गर्दै उपाधि जितेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज बेलुकी भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।   

निरन्तर सेटमा अग्रता लिए पनि नेपालले अन्तिम सेट गुमाउँदै उपाधि नै गुमाउन पुगेको हो । नेपाल पहिलो सेट जितेर अग्रता लिन सफल भए पनि दोस्रो सेट जितेर भारतले १–१ को बराबरी गर्यो । 

तेस्रो सेट जितेर नेपालले २–१ को अग्रता लियो । तर भारतले त्यसपछिका दुवै सेट जितेर उपाधि नै जित्यो । 

नेपालले लिग चरणमा भारतलाई हराएर पहिलो पटक भारतमाथि जित हासिल गर्ने इतिहास रचेको भए पनि त्यो इतिहासलाई दोहोर्याउन भने सकेन । 

नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा ३–० को सोझो सेटमा पराजित गरेको थियो भने भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन । 

इरान भने तेस्रो भएको छ । तेस्रो स्थानको भिडन्तमा इरानले श्रीलंकालाई ३–० ले हरायो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्