बाँकेको राप्ती नदी तर्न अझै डुङ्गाकै जोखिमपूर्ण यात्रा

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

राँझा (बाँके) होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ ।

बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए ।

उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

“नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादवले भने, “हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छाँै ।”

डुङ्गामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउँछन्। 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् ।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुङ्गाचालक पासीले बताए । डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए । रासस।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्