नाइस अवार्ड २०२४ असहाय बाल संरक्षण केन्द्र राप्तीसोनारीकी तारालाई

आइतबार, साउन २०, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । नाइस अवार्ड २०२४ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई प्रदान गरिएको छ ।

नाइस नेपालगन्जले चौथो नाइस अवार्ड २०२४ नगद १० हजारसहित वलीलाई प्रदान गरेको हो । नाइस नेपालगन्जको आयोजनामा आज नेपालगन्जमा एक विशेष समारोहका बीच नाइस अवार्ड २०२४ वलीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, नाइस अवार्ड २०२२ प्राप्त गर्न सफल सामाजिक अगुवा प्रबेज अली सिद्धिकी, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, नाइस अवार्ड २०२१ प्राप्त गर्न सफल अभिराज क्षेत्री, बास नेपालका अध्यक्ष लुना बुढाथोकी र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए ।

सात बर्ष शिक्षण पेशा, २ बर्ष सञ्चार माध्यममा जोडिँदै २०७७ देखि बाँकेको ग्रामीण क्षेत्रमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र सञ्चालन गरी बालवालिकाहरुको संरक्षणमा क्रियाशील वली पारिवारिक हिंसाको सामना गर्दै अगाडि बढेकी महिला हुन् । समाजमा सत्कर्म गरेर अगाडि बढ्नुपर्छ भन्ने मात्यताका साथ बाल संरक्षण केन्द्र सञ्चालन गरेकी वलीको साहस र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानबापत उक्त सम्मान प्रदान गरिएको हो ।

अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि अवार्ड प्रेरणा भएको बताइन् । उनले असल कार्य र सत्कर्मका साथ काम गरिरहेकी वली सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताइन् । कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रेग्मीले नाइसले गरेको असल काममा सहभागी हुन पाएकोमा खुसी लागेको बताए । उनले समाजका लागि उत्कृष्ट कार्य गरिरहेकी वलीलाई गरेको सम्मान धेरैका लागि हौसला र प्रेरणा बन्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार गैरेले मानवीय कार्यमा अग्रसर ब्यक्तिलाई नाइस अवार्ड प्रदान गरिनुले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । बास नेपालका केन्द्रीय अध्यक्ष बुढाथोकीले नाइस अवार्ड २०२४ प्राप्त गर्न सफल वलीलाई बधाई ज्ञापन गर्दै नाइसले असल ब्यक्तिलाई छनौट गरेको बताइन् । नाइस अवार्ड २०२४ ग्रहण पश्चात बोल्दै सम्मानित ब्यक्ति वलीले आफूले जीवनमा पाएको पीडाबाट पाठ सिक्दै बाल संरक्षण केन्द्र सञ्चालन गरिरहेका बेला नाइस नेपालगन्जले गरेको सम्मानले सामाजिक कार्यमा लाग्न थप हौसला प्रदान गरेको प्रतिक्रिया दिए । आफ्नो जीवनको संघर्ष स्मरण गर्दै सम्मान प्राप्त गर्दा हर्षको आँसु खसालेकी वलीले खसेको आसु पुछ्दै आफू अझ उत्साहित भएको बताएकी थिइन् । आफू रहुन्जेल समाजमा रहेका असहाय बालवालिकाहरुका लागि काम गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर स्तरीय मेलमिलाप समिति संयोजक शिव कुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।

नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाइस नेपालगन्जका सदस्य मन भण्डारीले गरेका थिए भने कार्यक्रममा स्वागत नाइस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । कार्यक्रममा नरैनापुर गाउँपालिका, जानकी गाँउपालिका, बास नेपाल, मंगल प्रसाद माध्यमिक बिद्यालय र भेरी अस्पतालले सहकार्य गरेका थिए । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।

नाइसको अध्यक्षमा पुनः भट्ट निर्वाचित

नाइस नेपालगन्जको तेस्रो अधिबेशनले पुनः हेमराज भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । आज नेपालगन्जमा भएको अधिबेशनबाट अध्यक्ष भट्टसहित सबै कार्यसमिति सर्वसम्मत चयन भएको हो । सर्वसम्मत समितिको उपाध्यक्षमा शोभा थापा मगर, सचिबमा कमल शाही, सहसचिबमा माधब कुमार कार्की र कोषाध्यक्षमा राष्टि बुढा मगर रहेका छन् । यसैगरी कार्यसमितिको सदस्यमा क्रमशः मन भण्डारी, तपेन्द्र बहादुर मलाती, शुद्ध प्रसाद चौधरी, रमिता शाह, लोक बहादुर घर्ती, जानकी बिक, सुमन पनेरु र मिना घर्ती मगर रहेका छन् । नबनिर्वाचित समितिले आज नै आफ्नो पद तथा गोपनियताको सपथ लिएर जिम्मेवारी सम्हालेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्