बाढीमा बेपत्ता भएकी मञ्जुको शव ५५ किलोमिटर टाढा भेटियो

आइतबार, साउन २०, २०८१
Neuro hospital Nepalgunj

दाङ । शुक्रबार बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित ‘नवलपुर ठूलो खोला’ तर्ने क्रममा अटोसहित बगेर बेपत्ता भएकी १७ बर्षीया मञ्जु खड्काको शब बबई नदीमा फेला परेको छ ।

शुक्रबार बेलुका बगेर बेपत्ता खड्काको शब आज घटनास्थलबाट ५५ किलोमिटर टाढा दाङको पश्चिममा पर्ने बबई गाउँपालिका- ५ खैरभट्टी भन्ने ठाउँमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मञ्जु अध्यनका लागि भनेर एक महिना पहिले मात्रै दाङको तुलसीपुर आएकी थिइन । गोरखा माविको कक्षा ११ मा भर्ना भएकी उनी बिज्ञान बिषय पढ्दै थिइन । उनको घर सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका - १४ तेप्तेकाँडा हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घटनास्थल भन्दा झन्डै ५५ किलोमिटर टाढा उनको शब फेला परेको हो । मञ्जुकी आमा ममता खड्काले शबको पहिचान गरेकी हुन ।

शुक्रबार बेलुका करिब पौने ७ बजेतिर तुलसीुपर – ४ खाद्रेस्थित मामा घर जाने क्रममा उनकी माउली घरकी हजुर आमा ५५ बर्षीया सीता आलेको पनि संगै बगेर मृत्यु भएको थियो ।

आलेको शब दोस्रो दिन शनिबार बिहान तुलसीपुर – १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको थियो । त्यो घटनास्थल भन्दा झन्डै १५ किलोमिटर टाढा थियो ।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर– ४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले बगाएको थियो ।

सीताकी बुहारी ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने जोगिन सफल भएका थिए । खाद्रेकै अटो चालक ४६ बर्षीय हरिकिशन बिकपनि अटो संगै बाढीमा बगेका थिए । झन्डै एक सय मिटर बगेपछि उनलाई स्थानीयले उद्धार गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्