सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बेल्जियम । हसिलो मुहार, बान्की परेको शरीर, प्रष्ट नेपाली बोली, बेल्जियमको पर्यटकीय नगरी ब्रुज क्षेत्रको आसपास हुने साँस्कृतिक कार्यक्रममा प्राय देखिने अनुहार, त्यस क्षेत्रका बालबालिकाहरुको नृत्य गुरु र दिदी। उनी हुन रचना कँडेल ।
नेपालमा हुदा बिद्यालयमा हुने प्रायः जसो साँस्कृतिक कार्यक्रममा भाग लिने र सहपाठीहरुलाई पनि सहभागि हुन प्रेरित गर्ने रचना बाग्लुङ्गमा जन्मिएता पनि उनको बाल्यकाल चितवनमा बित्यो । करिब ५ बर्षको हुँदा चितवन झरेकी रचना ७ कक्षासम्मको अध्ययन विद्या विकास इङ्लिस बोडिङ्ग चितवनमा गरिन ।
सानै उमेर देखि नृत्यतर्फ चासो राख्ने र चञ्चले स्वभावकी रचना विद्यालयबाटै कयौं पटक नृत्य प्रतियोगितामा भाग लिईन । त्यसपछि भने पारिवारिक कारणले १३ बर्षको कलिलो उमेरमा सपरिवार बेल्जियम आइन् ।
बाबु तोयानाथ कँडेल र आमा सावित्री कँडेलकी कान्छी छोरीका रुपमा जन्मिएकी रचनाले बाल्यकालमै जन्म स्थान छोडिन, जन्म घर छोडिन, साथीभाई र आफन्त छोडिन । नेपाल देश नै छोडिन तर उनी भित्र रहेको प्रतिभालाई भने उनले आफुसंगै बेल्जियममा लिएर आईन ।
जव उनी बेल्जियममा आईन, उनी भित्र अनेकौ ज्वारभाँटाहरु आए । बिदेशको भाषा, पढाई, रहनसहन लगायत आफू भित्र सुशुप्त अवस्थामा रहेको नृत्य कलालाई यो नौलो समाजमा देखाउन पाइन्छ वा पाइदैन भन्ने चिन्ताले पनि उनलाई कयौं बर्षसम्म सतायो । कतै आफू भित्र लुकेको प्रतिभालाई समाज भित्र पस्किनै नपाउँदा सेलाउने पो हो कि भन्ने डरले रचनालाई पिरोली रह्यो ।
बेल्जियम प्रबेशसंगै स्थानीय भाषा र रहनसहनले रचनालाई केहि हदसम्म चुनौतीपूर्ण बनायो । रचनाले यो चुनौतीको सामना गर्न एक बर्ष डच भाषा सिकिन । त्यसपछि उनी मिडिलबार कक्षामा भर्ना भइन ।
नेपाली र सामान्य अंग्रेजी भाषामात्र जानेकी रचनालाई बेल्जियमको स्थानीय भाषा सिक्न अनिवार्य थियो । रचनालाई भाषा र पढाई संगसंगै लान केहि समय कठिन भयो तर “गरे के सकिन्न र” भने झै लगनशीलता र मेहनतले उनी पढाईमा अब्बल निक्लिईन । अहिले रचनाले औषधी विकास र औद्योगिक फार्मेसी दुई फरक बिषयमा स्नातकोत्तर उत्तिर्ण गरेकी छिन ।
रचनाको सफलता पढाईमामात्र सिमित रहेन । उनमा रहेको नृत्य सम्वन्धी प्रतिभालाई समाजमा पस्कने र आफुमा भएको सीप अरुलाई हस्तान्तरण गरेर प्रवासमा नेपाली नृत्यको प्रवर्धन गर्ने तिब्र अभिलासालाई “तिमी सोच, म पुर्याउँछु” भने झै उनको सोचाइले पूर्णता पायो।
यसैक्रममा रचना अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) बेल्जियमकी अध्यक्ष बिनिता कँडेलसंग जोडिन पुगिन । रचना भित्र रहेको बिधाका बिषयमा दुबै जना बिच गहन विमर्श भयो।
अध्यक्ष कँडेलको पनि जीवनको एउटा पाटोको मोह नृत्य तर्फ गाँसिएकोले दुबै बिच सघन छलफल भयो । रचना भन्छिन “म भित्र रहेको प्रतिभालाई समाजमा पस्कन मलाई एउटा भरपर्दो सहारा चाहिएको थियो । सोहि क्रममा मैले बिनिता अन्टीलाई भेटे । हामीबिच यो बिषयमा लामो छलफल भयो । छ्लफल पछि हामीले योजना बनायौ । लक्ष्य निर्धारण गर्यौ । अनिे ब्रुजमा ससाना भाईबहिनीहरुलाई नेपाली नृत्य सिकाउने निष्कर्ष निकाल्दै यसलाई सफल बनाउने संकल्प गर्यौ”।
निष्कृष मुताविक रचनालाई इनास बेल्जियमले ब्रुज क्षेत्रमा नृत्य सिकाउन मुख्य प्रशिक्षकको जिम्मेदारी दियो । रचना भन्छिन “त्यो बेला हर्षले मेरो सिमा नै रहनेन” । उनमा थप जिम्मेवारी र चुनौती थपियो ।
रचना भन्छिन “ सस्थाले दिएको जिम्मेवारीलाई पुरा गर्नु मेरो जिम्मेदारी र कर्तव्य थियो । त्यसलाई मेरो आत्मविश्वासका कारण आजसम्म सफल भएको ठानेकी छु।
योजना अनुसार रचना र अध्यक्ष बिनिताले ब्रुजको नेपाली समुदायमा नृत्य कक्षा संचालन गर्न लागेको हुँदा ईच्छुक अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई सहभागि गराउन अनुरोध र सम्पर्क गरे । उनीहरुको कुरा धेरैले सुने तर थोरैलेमात्र मनन गरे । फलस्वरुप दर्जनौ अभिभावकलाई सम्पर्क गर्दा मात्र पाँच जना बालबालिका नृत्य कक्षामा आबद्ध भए ।
त्यसबेला नृत्य कक्षा संचालनका लागि संस्थामा आर्थिक अभाव थियो । अभावलाई पूर्ती गर्न इनास अध्यक्ष बिनिताको घरको बैठकमा नाच सिकाउने ठाउ चुनियो । रचनाले उक्त घरको सानो बैठकमा निशुल्क नृत्य सिकाउन थालिन । यो क्रम चार महिनासम्म चल्यो ।
रचना भन्छिन “नृत्य सिक्न आएका स-साना भाईबहिनीहरुको उत्शुकता र सक्रियता हेर्दा ब्रुजमा यसलाई अझै व्यापक बनाउन सकिने देखिएकोले हामीहरुले कक्षामा आउने भाईबहिनीहरुलाई आफ्ना साथीहरु बिच नृत्य सम्वन्धि कुरा राख्न बतायौ । त्यसपछि सिक्नेको संख्या १५ पुग्यो । १५ जनाको लागि त्यो ठाउ सानो हुने भएकोले बाहिर अर्को कोठा लियौं । कामको क्रमशः प्रचारप्रसार भयो । त्यसपछि भने सहभागि संख्या ह्वात्तै बढ्यो । अनि हामीले एउटा हल हैन दुईवटा हल र अन्य थप प्रशिक्षक समेत खोज्नु पर्यो” ।
त्यसपछि रचनाको सारथीको रूपमा स्मृति गिरी र शुभेक्क्षॉ मल्ल आए । गिरी र मल्लले पनि रचनाको जस्तै नृत्य प्रशिक्षण कार्यलाई गंभीरतापूर्वक लिए । आफुहरुले भ्याएसम्म प्रयास गरे । उनीहरुको मेहनत र योगदान पनि समान रहेको छ ।
रचना थप्छिन “मेरो अनुभव र बुझाईमा बिदेशमा प्रवासी नेपाली बालबालिकाहरुले भाषा र संस्कृति सिक्ने मुख्य प्रबेश बिन्दु भनेको नृत्य हो । अभिभावकहरुले पनि नृत्य र भाषा दुबैलाई मिलाएर लान सुझाव दिनुभयो । त्यसपछि भने हामीले नृत्य र भाषा कक्षालाई संगसंगै समेटेर लग्यौ। यसरी दुबै बिषयलाई संगसंगै लिएर जाँदा बालबालिकाहरुलाई भाषा र नृत्य सिक्न ठुलो सहयोग पुगेका छ ” ।
रचनाका अनुसार मानिसले बाल्य अवस्थामा आफ्नो भाषा र संस्कारका बारेमा जान्न र सिक्न पाएन भने पछि यो बिषय जटिल बन्न सक्छ । त्यसकारण यो बिषयलाई अभिभावकहरु समयमै बुझ्न जरुरी हुन्छ।
रचनाले हिजो नाँच भन्दा साथीहरुको पछि गएर लुक्ने केटाकेटीहरु आजभोली भने “हामीले स्टेजमा नृत्य कहिले देखाउने” भनेर बारम्वार प्रश्न गर्दा उनीहरुको आत्मविश्वास, सीप र उत्साहलाई नतमस्तक भावले श्रद्धा गर्न मन लाग्ने बताउँछिन ।
प्रवासमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिका बारेमा थोरै मात्रामा सिकाउन सफल भएता पनि सामूहिक सिकाईमा धेरै नै प्रगति गर्न सक्ने रचनाको अनुभव छ ।
रचना भन्छिन “ब्रुज क्षेत्रका बालबालिकाहरुले फ्रेन्च, नेदरल्याण्ड डच, अंग्रेजी र नेपाली भाषा समेत सिक्नुपर्ने भएकाले उनीहरुको लागि भाषा सिक्ने बिषय जटिल छ। कतिपय बच्चाहरुले नेपाली शब्दहरुलाई बोली र गीतको माध्यमबाट बुझेता पनि त्यो शब्द लेख्न मुस्किल पर्छ ।
तर अभिभावकले घरमा अलिकती समय निकालेर सिकायो भने सिक्नेका लागी यो सजीलों हुन्छ ।”
रचना भन्छिन-“ टिकटकका माध्यमबाट पनि हाम्रा बालबालिकाहरुले नेपालमा चलेका नयाँनयाँ गीत, पहिरन तथा शब्द जान्ने र सिक्ने अवसर पाएका छन् । सामाजिक संजालमा भेटीने नाचले पनि स्टेपहरु सिक्ने अवसर मिलेको छ । उनीहरुले यो बिषयमा सामाजिक संजालको प्रयोग राम्रोसंग गरेको देखिन्छ ।
रचनाको सिकाइमा नृत्य वा भाषा कक्षाले नेपाली समुदायमा बहुआयामिक प्रभाव परेको छ । जस्तो कि नेपालमा संस्कार र संस्कृति अनुसार फरक-फरक पहिरन हुने भएकोले नृत्यमा समुदाय अनुसारको पहिरन छ, त्यसैले उनीहरु समुदाय अनुसारको पहिरन पहिचान गर्न र लगाउन सिकेका छन् । त्यतिमात्र हैन यो पहिरनले संस्कारको समेत पहिचान दिने भएकोले यो बारे पनि बच्चाहरु जानकारी पाउने गरेका छन् ।
उनको अनुभवमा पछिल्लो चरणमा नृत्य र भाषा कक्षाले माथिका बिषय अलावा गीत संगीतको माध्यमद्धारा नेपालसंग जोडिएको र बेल्जियममा पनि बच्चाहरुको आफ्नै समूह निर्माण भएको छ । जसका कारण ब्रुजमा आयोजना गरिने कार्यक्रममा भेट हुँदा प्रायः नेपाली बालबालिकाहरु संगै बस्ने, आत्मीयता साट्ने, रमाउने र नाँच्न समेत गरेको देखिन्छ । जुन हिजोका दिनमा अँ ..... कार्यक्रममा ? भन्ने थियो, आज फलानो फलानो साथीहरु पनि आउँछन । जाँउ न भन्न थाल्या छन । यो पनि एउटा ठुलो सफलता हो जस्तो लाग्छ ।
रचनाको अनुभवमा कक्षाहरु संचालन गर्दा सफलताका साथै चुनौतीहरु पनि छन् । पहिलो चुनौती भनेको जव ब्रुज क्षेत्रमा यसको प्रचार प्रसार भयो, नृत्य र भाषा सिक्ने बालबालिकाहरुको संख्या ह्वात्तै बढ्यो । यस्ले आर्थिक र व्यवस्थापनमा केहि समस्या आयो । खासगरी आइतबार बिदाको दिन कक्षा हुने भएकोले संख्या बढ्यो तर आभिभावकहरुको सहयोग, सुझाव र सहकार्यले समस्या समाधान भयो।
अहिले रचनासंग नृत्य र भाषा सिकाउने ५ जना प्रशिक्षकहरु छन् ।
रचनाले आफुहरुले नृत्य र नेपाली भाषा कक्षा पहिलो चार महिनासम्म निशुल्क सिकाएको र पछि सहभागी संख्या बढ्दै जाँदा लागत समेत बढ़ेको अवस्थामा आफूहरुको मेहेनत, लगनशीलता र प्रगति देखेर अभिभावकहरु स्वयम्ले आर्थिक सहयोग गर्ने गरेको बताउँछिन ।
अर्को प्रसंगमा रचना भन्छिन “बालबालिकाहरुको सिकाईको मुख्य बिन्दु घर हो । त्यसैले अभिभावकहरुले घरमा पनि नेपाली भाषा पढाउने, महत्व बुझाउने र नेपाली भाषा सिक्न र सिकाउन प्रेरित गरे बिदेशमा नेपाली भाषा, कला र संस्कृति दोश्रो पुस्तामा हस्तान्तरण हुनेमा शंका छैन “।
सामाजिक क्षेत्रमा समेत काम गर्न रुचाउने रचना अहिले इनास बेल्जियमको उपाध्यक्ष पनि छिन । उनको भनाई अनुसार ब्रुजमा नृत्य र नेपाली भाषा कक्षा संचालनमा इनासको मुख्य भूमिका महत्वपूर्ण छ । यी कक्षाहरु इनास कै सहयोग, समन्वय र सहकार्यमा स्थानीय समुदायद्धारा निर्देशित र केन्द्रीत छन् । नेपाली भाषा र संस्कृतिको प्रबर्धनका लागी नेपाली समुदायले निरन्तर सहयोग र सहकार्य गर्न जरुरी छ ।
यतिमात्र हैन रचनाले ब्रुज क्षेत्रमा गरेको मेहेनत र संघर्षलाई त्यहाँको स्थानीय प्रसाशनले योङ्ग भोल्क (युवा दक्षशक्ति) परियोजनामा रचनालाई पनि छनौट गरेको थियो ।
योङ्ग भोल्क परियोजना ब्रुजका युवाहरुका लागि एउटा अनलाईन कन्टेन्ट प्लेटफर्म हो । यो परियोजना अन्तर्गत ब्रुज शहरलाई जिवन्तता प्रदान गर्न सहयोग पुर्याउने युवाहरुले सामाजिक संजाल मार्फत आफ्ना बिचारहरु प्रस्तुत गर्ने र अन्य युवा लगायत यसप्रति चासो राख्नेहरुलाई प्रेरणा र आत्मबल दिन्छ ।
रचना पनि यसका लागि छनौट भईन र आफ्नो बिचारलाई परियोजना मार्फत युवाहरु बिच कुशल सन्देश प्रवाह गर्न सक्षम भएकी छिन् ।