लुम्बिनी सरकारमा बादशाह वन मन्त्री हुँदा प्रचण्डले पाए पर्यटन मन्त्रालयको जिम्मेवारी (मन्त्रालयको विवरण)

शुक्रबार, साउन १८, २०८१

दाङ । लुम्बिनी सरकारका बिनाविभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् । लुम्बिनी सरकारमा बिनाविभागीय मन्त्री रहेका नेपाली कांग्रेसबाट मन्त्री भएका बाँकेका  बादशाह कुर्मीले वन तथा वातावरण मन्त्रालय, दाङका प्रचण्ड बिक्रम न्यौपानेले उद्योग पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

त्यस्तै कांग्रेसका धनेन्द्र कार्की (गुल्मी) ले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका हुन्  भने कांग्रेसबाट प्युठानका सरोज थापाले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी नेकपा एमालेबाट बिनाविभागीय मन्त्री रहेका रुपन्देहीका  भुमिश्वर ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी  गुल्मीका दिनेश पन्थीले पाएका छन् भने  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी  पाल्पाका खेम सारुले र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले पाएकी छिन् ।

१० दिनअघि लुम्बिनी  सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेससहित ९ जना मन्त्री नियुक्त गरेका थिए।जसमा कांग्रेस का ५ र एमालेका ४ मन्त्री नियुक्त भएका थिए। कांग्रेसले अझै एक जना मन्त्री पठाउन सकेको छैन ।

मुख्यमन्त्री आचार्यले बाँकी रहेका सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । कांग्रेसभित्र कुई खेमाबीचको बिबादले अझै कसलाई मन्त्री बनाउने भन्ने बारेमा टुंगो लाग्न सकेको छैन ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्