देशभरमा १४५ जनाको मृत्यु, ४७ बेपत्ता

बिहीबार, साउन १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । देशभरमा आएको अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि  विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी बुधबार दिउँसोसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४५ जनाको मृत्यु भएको हो । 

उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७४ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजीकार्य जारी रहको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रवक्ता कार्कीको भनाइ छ । 

बाढी पहिरोमा परी छ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ६३ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । 

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्