टीआरसी स्ंयन्त्रको बैठकबाट अझै भएन सहमति

सोमबार, साउन १४, २०८१

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको (टीआरसी) बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । 

आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियो । 

बैठकपछि बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक स्थगित गरिएको बताए । उनले भने, ‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ’, उनले भने । 

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ । 

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो ।

पीडित मैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्