१३४ औं वार्षिक उत्सव: भेरी अस्पतालले आफ्ना सेवाहरुलाई अझै स्तरीय बनाउनुपर्ने सुझाव

शनिबार, साउन १२, २०८१

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालले आफ्नो १३४ औं वार्षिक उत्सव मनाएको छ। आज वार्षिक उत्सव मनाउँदै अस्पतालको सेवालाई स्तरीय बनाउन सरोकारवाला निकायले सुझावसमेत  छन् ।

वार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले पश्चिम नेपालकै प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्ना सेवाहरुलाई स्तरीय बनाउनुपर्ने सुझाव दिएका हुन्  ।

उनीहरुले अस्पतालको श्रीवृद्धिका लागि आफ्नो तहबाट हुन सक्ने सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले पश्चिम नेपालकै सबैभन्दा पुरानो अस्पतालको रुपमा रहेको भेरी अस्पतालको सेवालाई विरामीमैत्री बनाउन सुझाव दिए ।

उनले ठूला र आलिसन भवन हुँदैमा जनताले राम्रो उपचार नपाउने भन्दै स्तरीय उपचार र सेवामा विशेष ध्यान दिन सुझाव दिए । उनले सबै मिलेर अस्पतालको विकास गरिनुपर्ने धारणा राखेका थिए । त्यसैगरी लुम्विनी प्रदेशका विना विभागिय मन्त्री वादशा कुर्मीले भेरी अस्पतालले विपन्न तथा गरिव मानिसहरुको उपचार सेवामा ठूलो योगदान पुराएको बताए । उनले अस्पतालले छिटोछरितो सेवा प्रवाहका लागि ध्यान दिनुपर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले स्तरीय सेवा दिने सवालमा प्रयास भइरहेको बताए। अस्पतालका  मेडिकल सुपरिन्टेन्डेण्ट डा.प्रकाश थापाले अस्पतालले दिईरहेको सेवाबारे जानकारी गराएका थिए।

डा.थापाले कोरोना महामारीमा अस्पतालले हासिल गरेको विश्वास कायम राख्ने गरी सेवा प्रवाहलाई स्तरीय बनाइने बताएका थिए । कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसक्रममा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। हाल डा. थापा मेसु भएर आएदेखि अस्पतालको सेवा उत्कृष्ट बन्दै गएको छ।

वार्षिक उत्सव कार्यक्रममा विभिन्न राजनितीक दलका जिल्ला अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा  निकायका प्रतिनिधिहरु लगायत स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्