बंगलादेशबाट हालसम्म १२ सय बढी विद्यार्थी नेपाल फर्किए

सोमबार, साउन ७, २०८१

काठमाडौं । बंगलादेशमा प्रदर्शनले हिंसाको रुप लिएपछि  नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबारमात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । 

जसमा ३०५ जना काँकडभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् ।

परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दूतावासका विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा एक सय ३५ भन्दा बढीको ज्यानसमेत गएको छ ।   

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्