त्रिभुवन विमानस्थलबाट बाहिरिएको १ किलो बढी कोकिनसहित नाइजेरियन र भारतीय नागरिक पक्राउ

बिहीबार, साउन ३, २०८१

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट ठुलो परिमाणमा कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्युरोले ३ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको १ किलो १ सय ग्राम कोकिनसहित अन्तर्राष्ट्रिय कोकिन  कारोबार गिरोहका सक्रिय सदस्य २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो।

भारतीय नागरिक अन्सारी साउन १ गते मुम्बईबाट एयर इन्डिगोबाट नेपाल अवतरण भएका थिए। ब्युरोको टोलीले अन्सारीलाई काठमाडौंको ठमेलको एक होटेलबाट २ वटा जुसका बट्टाभित्र ६२ वटा कोकिनका क्याप्सुल लुकाएर राखेको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले  पक्राउ परेका भारतीय नागरिक अन्सारीले जुसका २ वटा बट्टाभित्र लुकाएर राखिएका ६२ कोकिनका क्याप्सुल काठमाडौं-९ पिङ्गलास्थानको एक होटेलमा बसिरहेका निज नाइजेरियन नागरिकबाट लिएको बयान दिएको जनाएको छ। 

उनको बयानका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुलालाई पनि पक्राउ गरेको हो। उनी पनि साउन १ गते नै कतार एयरबाट काठमाडौं अवतरण भएको ब्युरोले जानकारी दिएको छ। 

ब्युरोको टोलीले उनीसँँग सोधपुछ गर्दा उक्त १ किलो १ सय ग्राम कोकिनका क्याप्सुलहरु कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर काठमाडौं ल्याएको खुल्न आएको हो। काठमाडौं आइपुगेर उनले कोकिनका क्याप्सुललाई २ वटा जुसका बट्टाभित्र राखेको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले उनीहरु दुबैको जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि लागुऔषध मुद्धामा थप अनुसन्धान गरिरहेको जनाएको छ।

गत शनिबार मात्रै मलेसिया, लाओस र बैंकक हुँदै  काठमाडौं आइपुगेकी ४७ वर्षीया मलेसियन महिला बथुमलाई भादिभालोबाट काठमाडौं-२९ स्थित ठमेलको होटेलको कोठामा ६ वटा स्कुल ब्यागभित्र फल्स बटम बनाइएर ५ किलो ८२० ग्राम कोकिन प्रहरीले बरामद गरेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्